परराष्ट्रमन्त्री राणालाई डिप्रेसन !

परराष्ट्रमन्त्री राणालाई डिप्रेसन !

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विदेश भ्रमणबाट नेपाल फर्किदा डिप्रेसन हुने अवस्था रहेको भन्दै चिन्ता जनाउनुभएको छ । 

देशमा नकारात्मकताको खेती बढेको भन्दै उहाँले त्यस्तो चिन्ता गर्नुभएको हो । विदेशमा भने नेपालको परराष्ट्रमन्त्रीको हैसियतमा इज्जत पाउने गरेको आरजुले बताउनुभयो । 

‘म जहाँ जाँदा पनि नेपालको परराष्ट्रमन्त्री भनेपछि इज्जत दिन्छन्, अङ्ग्रेजी आएर, कपाल-सपाल बनाएको भएर होइन’, काठमाडौँमा आयोजित एक कार्यक्रममा भन्नुभयाे, ‘नेपालको परराष्ट्रमन्त्री भएर मैले त्यो इज्जत पाएको छु, त्यसमा भाग्यमानी ठान्छु, तर देशभित्र आउँदा चाहिँ मलाई पनि डिप्रेसन नै हुन्छ ।’

नेपाली मिडियाले राम्रोभन्दा नराम्रो कुराको रिपोर्टिङलाई प्राथमिकता दिँदा नकारात्मकताले बढावा पाएको उहाँको गुनासो छ । 

‘यहाँ त ढुंगा हान्या छ, गाली गर्या छ, सबै नराम्रो भन्या छ, ओभरलमा यसले राष्ट्रिय माहोल नै बिगारेको छ’, आरजु भन्नुहुन्छ, ‘पेपर हेर्यो उही नराम्रो मात्र, राम्रो कुराको त रिपोर्टिङ नै हुँदैन यहाँ, नराम्रो कुरालाई चाहिँ एकदम हाइलाइट गरिन्छ ।’

राजावादी आन्दोलनलाई बढी महत्व दिएको भन्दै मिडियासँग उहाँको थप असन्तुष्टि देखियो ।

टिप्पणीहरू