सुरक्षा फेरिने पालो ज्ञानेन्द्रपछि देउवाको

सुरक्षा फेरिने पालो ज्ञानेन्द्रपछि देउवाको

एक महिने बसाइ सकेर पोखराबाट निर्मल निवास फर्कनासाथ सशस्त्रको सुरक्षा टोली फेराइमा पूर्व राजा परेको केही दिन भएको छैन,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि यसको शिकार भएका छन् ।

उनको निवास बूढानीलकण्ठबाट निरीक्षक सुरज बस्नेतसहितको सेटलाई फिर्ता बोलाएर नयाँ टोली पठाइएको छ । राजनीतिक भेटघाटको क्रममा सूचना लिक भएको या अरू कारण पनि हुन सक्छ',स्रोतले भन्यो, 'केही दिनयता देउवा निवासमा नेताहरूको बाक्लो आउजाउ चलिरहेको थियोे । त्यहीबीचमा बूढानीलकण्ठबाट हिजो सशस्त्रको पूरा टिम परिवर्तन भएको छ ।'

स्रोतका अनुसार एकजना सिपाहीबाहेक करिब २५ जनाको टोलीलाई हलचोक फिर्ता गरेर नयाँ टोली पठाइएको छ । यसअघि कमान्डर मात्रै फेरिन्थे । तर, पहिलोपटक तलैसम्मको सेट फेरिएको हो । एकजनाले गल्ती गरे उसलाई जिम्मेवार बनाउनुपर्नेमा बूढानीलकण्ठले सशस्त्रको सेटै फेरेको हो । सशस्त्रले यो कदमलाई नियमित वा आकस्मिक केही भनेको छैन । तर,सत्ता राजनीतिमा हलचल भइरहेका बेला बूढानीलकण्ठले सुरक्षा टिम फेर्नुलाई अर्थपूर्ण मानिएको छ ।

हलचोकले एसपी देवराज अर्याल नेतृत्वको सशस्त्र प्रहरी बल विशेष सुरक्षा कार्यदलबाट भिआइपीहरूको सुरक्षाका लागि अवस्था हेरी इन्सपेक्टर या डिएसपीको कमान्डमा १५ जनाको टोली खटाउने गरेको छ । तर त्यो संख्या २५ जनासम्म पनि पुग्छ । देउवा निवासमा भने २५ कै संख्यामा सशस्त्र प्रहरी तैनाथ थिए । 

यसअघि चैत १५ मा भएको राजावादीको हिंसात्मक प्रदर्शनपछि पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाकर्मी कटौती गरिएको थियो। सशस्त्र प्रहरीले पूर्वराजाका १० जना सुरक्षाकर्मीलाई फिर्ता बोलाएको थियो ।

डिएसपीको कमाण्डमा रहेका सशस्त्र प्रहरीको २५ जनाको टोलीमध्ये १० जनालाई हटाएर १५ जना कायम गरिएको थियो ।

टिप्पणीहरू