राष्ट्र बैंक खान खोज्ने यी दलाल

‘बाँदर बाठो भए आफ्नै अनारी च्यापिएर मर्छ’ भन्ने लोकोक्ति नेपालीमा निकै प्रख्यात छ । त्यो पनि सामान्य ठाउँमा हैन, अग्लो ठाउँमा काठ चिर्न ठिक्क पारिएको आरोमा । पछिल्लो समय बिचौलियाको रूपमा चर्चित दिपक भट्टको हालत पनि क्याबिनेटका पछिल्ला दुई बैठकको निर्णयले ठ्याक्कै बाँदरकै जस्तो बनाइदिएको छ ।
कुनै पनि सार्वजनिक पदमा गरिने नियुक्तिमा दिपक भट्ट नजोडिएका ठाउँ बिरलै होलान् । धितोपत्र बोर्ड, बिमा प्राधिकरणलगायत निकायमा नियुक्ति खानेले भट्टको पाउपूजन नगरी सम्भव नहुने हौवा बजारमा व्याप्त छ । करिब ११ महिनासम्म अध्यक्ष रिक्त रहेको धितोपत्र बोर्डमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गराइछाड्न निकै पापड बेले । परराष्ट्रमन्त्री आरजु म्याडमको विश्वासपात्र भट्टले श्रेष्ठलाई अध्यक्ष बनाउन प्रधानमन्त्री केपी ओलीलाई समेत मनाइछाडे ।
आफ्ना ‘एस म्यान’ लाई धितोपत्रमा लैजानुअघि करिब ६ महिना श्रेष्ठलाई आफ्नो लगानी रहेका केही कम्पनीमा कन्सल्टेन्टको जिम्मा दिएर पुँजी बजार, धितोपत्र बजारबारे अध्ययन गराएका थिए । त्यतिखेर भट्टलाई नयाँ स्टक एक्सचेञ्ज र आफ्नो सेयर स्वामित्व रहेका जगदम्बा स्टिललाई आइपियो निश्कासनको अनुमतिका लागि ‘डमी’ अध्यक्ष चाहिएको थियो । त्यो काम उनैको अर्का विश्वासपत्र भनिएका बोर्ड पूर्वअध्यक्ष रमेशकुमार हमालले सकेनन् वा गर्न चाहेनन् । त्यसैले गत भदौमा भर्खर प्रधानमन्त्री बनेका ओलीलाई खुशी पारेपछि बोर्डमा सन्तोषलाई पठाइएको जगजाहेर छ । नयाँ स्टकको लाइसेन्स हत्याउन लागिपरेका उनी बोर्डमा सन्तोषलाई पठाएपछि ढुक्क देखिन्छन् ।
स्टक एक्सचेञ्ज (नेप्से) मा नयाँ विश्वासपात्रलाई प्रमुख कार्यकारी अधिकृत (सिइओे) बनाउन सकिएमा त्यहाँभित्रको सिष्टम, डेटाका बारेमा जानकारी लिन, भित्रिया राखेर नेप्सेलाई खोक्रो बनाउन, आवश्यक प्रविधि खरिदमा बिलम्ब गरेर नयाँ स्टकलाई तीब्र गतिमा सञ्चालन गर्न, नयाँ स्टक सेयर आइपिओमा जाँदा प्रिमियममा रकम (प्रतिकित्ता ३२५ रूपैयाँ) उठाएर करोडौँ कुम्ल्याउन सकिन्छ ।
सरकारी स्वामित्वको नेप्सेलाई कौडीको भाउमा पुर्याएर मिलेसम्म आफैं हत्याउन लागेका उनको योजनामा भने पछिल्लो क्याबिनेट बैठकले तुषारापात गरिदिएको छ । अघिल्लो बैठकपछि हल्ला गरिएका उनका ‘खास’ मान्छे नेप्सेको सिइओे बन्न सकेनन् । जुनसुकै हालतमा उनी नेप्सेमा नारदकुमार लुँइटेललाई ल्याउन चाहन्थे ।
पहिले तारागाउँ विकास समितिको अध्यक्ष तथा सदस्यसचिव लुइँटेल नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को कार्यकारी निर्देशक पनि थिए । तर, नेप्सेमा सिइओे बन्न तोकिएको योग्यता थिएन । बालुवाटार, खुमलटार, बूढानीलकण्ठ, सिंहदरबार सबैतिर रजगज गर्दै आएका भट्टले लुुइँटेललाई जसरी पनि नेप्सेमा सिइओे बनाउन खोज्नु अचम्मको कुरा पनि थिएन ।
योग्यता नपुगेको व्यक्तिलाई नेप्सेमा लैजान नहुने भन्दाभन्दै लिँडेढिपीका कारण अघिल्लो साता लुइँटेलको नाम प्रस्ताव भएको थियो । यसबीच नेप्सेको सिइओेमा झापाका चुडामणि चापागाईंलाई नियुक्त गरिएको छ । साम, दाम र दण्ड भेदका भरमा भट्ट राष्ट्र बैंकको गभर्नरमा पनि आफ्नै मान्छे पुर्याउन लागिपरेका छन् । डेपुटी गभर्नर निलम ढुुंगानादेखि पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलाई बोकेका उनले दुबै जनालाई किरण भवनमा ‘स्पेशल कफी’ खुवाउँदै बात मारेको कुरो यसबीच बाहिरिएको छ ।
(जनआस्था सप्ताहिकबाट साभार )
टिप्पणीहरू