शिक्षामन्त्रीको वाचा र शिक्षक आन्दोलन घोषणा एकैदिन

संसद्को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन पारित गराउन नेपाल शिक्षक महासंघले दबाबमूलक आन्दोलन गर्ने भएको छ । महासंघले चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
माघ २० गते आ–आफ्नो फेसबुक वालमा आयातकार रातो स्टिकर प्रयोग गरी ‘२०८१ को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ लेखेर आन्दोलनमा सहभागी हुन देशभरका शिक्षकहरुलाई आग्रह गर्दै फागुन १७ गते काठमाडौँमा कालोपट्टीसहित जुलुस प्रदर्शन तथा खबरदारी सभा गर्ने उल्लेख छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले फागुन १९ गते दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएका छन् ।
यता, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन पारित नभए पदबाट राजीनामा दिने उद्घोष गर्नुभएको छ । एमालेनिकट नेपाल राष्ट्रिय शिक्षक संगठनको कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले संसदबाट विधयेक पास नभए पद छाड्ने घोषणा गर्नुभएको हो ।
‘विद्यालय शिक्षा ऐन आउँदैन, विधेयक बन्दैन भने म पद छोड्छु’ मन्त्री भट्टराईले भन्नुभयो, ‘विधेयक ल्याउने भनेर बसेको हो, सक्दिनँ भन्ने लाग्यो भने बस्दिनँ ।’
स्थायी प्राध्यापकको जागिर छोडेर राजनीतिमा आएको बताउँदै उहाँले गुमाउनलाई बाँकी केही नरहेको पनि स्पष्ट पार्नुभयो । ‘म पदमा बसिरहँदा कुनै पनि कुरा पाउँछु भनेर बसेको छैन, कमाउँछु भनेर बसेको पनि होइन, अब काम गर्न सकिँदैन भन्ने लागेको क्षण पद छोड्न तयार छु’, उहाँको भनाई छ ।
टिप्पणीहरू