सहकारीको ऋण नतिर्नेहरुको धितो लिलाम
सहकारीबाट लिएको ऋण नतिर्नेहरुको धितो लिलामी प्रक्रिया अघि बढेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले त्यस्ता ऋणीको सम्पत्ति लिलाम बिक्री शुरु गरेको हो ।
समितिले आज सूचना जारी गर्दै लुःनिभा बहुउद्देश्यीय सहकारीका अध्यक्ष, सञ्चालक र ऋणी सदस्यको सम्पत्ति लिलामीका लागि आह्वान गरेको छ । काठमाडौंको कमलाक्षीमा रहेको उक्त सहकारी २०७६ साउन १४ गते समस्याग्रस्त घोषित भएसँगै संस्थाको सम्पत्ति तथा दायित्व व्यवस्थापन गर्ने जिम्मा कार्यालयलाई गएको थियो ।
सहकारीका ऋणी सदस्य एवं सञ्चालकहरुबाट संस्थालाई बुझाउनुपर्ने साँवा, ब्याज, हर्जाना, जरिवाना तिर्नका निम्ति यसअघि पटकपटक सूचना टाँस गर्दा समेत वेबास्ता गरिएकोले उनीहरुको सम्पत्ति लिलामी बिक्री प्रक्रिया अघि बढाएको कार्यालयले जनाएको छ ।
‘पत्राचार गर्दा, पत्रपत्रिकामा सूचना प्रकाशित गर्दा समेत आफ्नो दायित्व फरफारक नगरेकाले ऋणीहरुको नाममा रहेको यस समितिबाट रोक्का राखिएका तपसिल बमोजिमका जग्गाहरु सहकारी नियमावली, २०७५ को परिच्छेद ८ को नियम ३० को उपनियम (२) को खण्ड (ख) बमोजिम चलन चल्तीको मूल्य कायम गरी लेना रकम असुलीका लागि ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र आह्वान गरिएको छ,’ सूचनामा उल्लेख छ ।
सूचनामा सहकारीका निलम्बित अध्यक्ष मिनकृष्ण श्रेष्ठको नाममा रहेको सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका–७, स्थित साढे ६ रोपनी जग्गा लिलामी गर्न लागिएको उल्लेख छ । यसको मूल्य प्रतिरोपनी तीन लाख रुपैयाँ तोकिएको छ । त्यस्तै, सहकारीका निलम्बित सदस्य एवं ऋणी राजेशरत्न शाक्यको मोरङ सुन्दर हरैचा नगरपालिका–२, स्थित दश धुर जग्गा सात लाख रुपैयाँमा बिक्रीका लागि राखिएको छ ।
ऋणी सदस्य बलराम भुजेलको धादिङ गजुरी नगरपालिका–४, स्थित एक रोपनी जग्गा प्रतिआना दश लाख ८० हजार रुपैयाँ र भक्तपुर सूर्यविनायक नगरपालिका–१० स्थित चार आना जग्गा प्रतिआना १७ लाख रुपैयाँका दरले बिक्री गर्न लागिएको छ । इच्छुक बचतकर्ता, संस्था तथा व्यक्तिले धितो सकार्न चाहेमा गोप्य शिलबन्दी निवेदन दिन सक्ने कार्यालयले जनाएको छ ।
टिप्पणीहरू