प्रधानमन्त्रीको नारा सुनेर जनता हाँसिरहेका छन् - प्रचण्ड

प्रधानमन्त्रीको नारा सुनेर जनता हाँसिरहेका छन् - प्रचण्ड

पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारी र विचौलियाहरुलाई धेरै नरमाउन सल्लाह दिनुभएको छ । 

वर्तमान सरकार बिचौलियासँगको गठजोडबाट बनेको दावी गर्दै उहाँले तर सँधै यस्तो अवस्था नरहने भएकाले धेरै खुसी नहुन भन्नुभएको हो । बाँसबारी, बालमन्दिर, गिरीबन्धु जग्गा काण्ड र नक्कली भुटानी शरणार्थी लगायतका भ्रष्टाचारका प्रकरणमा संलग्नहरुलाई वर्तमान सरकारले उन्मुक्ति दिए पनि एक दिन फेरि फाइल खोलिने प्रचण्डले जिकिर पनि गर्नुभयो । 

आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै भन्नुभयो, ‘यो सरकार बनेपछि विचौलिया र भ्रष्टाचारीहरु निकै खुशी भएका छन् । तर, धेरै खुशी हुनुपर्दैन, तपाईका ती फाइलहरु फेरि खोलिन्छ, जनताले खोल्नेछन् ।’

माओवादी केन्द्रले अब आफ्नै सामर्थ्यमा सरकार बनाएर विचौलियाको रजगजलाई अन्त्य गर्ने प्रचण्डको भनाई छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रष्टाचारविरोधी नारा सुनेर जनता हाँस्न थालेको पनि बताउनुभयो । ‘उहाँ (ओली) ले म भ्रष्टाचार गर्दिन, गर्नेलाई पनि छाड्दिन भनिरहने, जनताले चाहिँ सुनेर हाँसिरहेको अवस्था छ’, प्रचण्डले थप्नुभयो । 

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले शक्तिको दुरुपयोग गरेको पनि दावी गनुभयो । ‘प्रतिपक्ष दलका सभापतिलाई अहिले देशकै ठूलो सहकारी ठग हो भन्ने देखाएर जिल्ला जिल्ला घुमाइँदै छ’, भन्नुभयो, ‘उहाँलाई संगठित अपराधको मुद्धा नलगाएकै कारण रातारात जिल्ला न्यायाधिवक्ताको सरुवा गरिन्छ, यो राज्यशक्ति चरम दुरुपयोग नभएर के हो त  ? ’

 

टिप्पणीहरू