गृहमन्त्री लेखकविरुद्ध जाहेरी दर्ता भएन, आयोग गुहार्ने तयारी

गृहमन्त्री लेखकविरुद्ध जाहेरी दर्ता भएन, आयोग गुहार्ने तयारी

जिल्ला प्रहरी परिसर, काठमाडौंले गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । 

‘दलितका लागि दलित अभियान’ का संयोजक खगेन्द्र सुनारले लगेको जाहेरी प्रहरीले दर्ता गर्न नमानेको हो । गृहमन्त्रीविरुद्ध जाहेरी लिन नमिल्ने बताउँदै परिसरले फिर्ता पठाइदिएको संयोजक सुनारले बताए । 

‘आज हामी जाहेरी लिएर परिसर गएका थियौं । तर, परिसरले गृहमन्त्रीविरुद्ध जाहेरी लिन नमिल्ने भन्दै दर्ता गर्न मानेन । अब हामी राष्ट्रिय मानव अधिकार आयोगमा डेलिगेशन जान्छौं । हुलाकमार्फत जाहेरी पठाउँछौं’, उनले भने । 

भोलि सानेपास्थित नेपाली काँग्रेसको केन्द्रीय कार्यालय गएर गृहमन्त्री लेखकमाथि कारबाहीको माग गर्ने संयोजक सुनारले जानकारी दिए । अन्तरजातीय प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामलाई छुट्याउन गृहमन्त्री लेखक नै लागिपरेको भनि समाचार प्रकाशित भएको थियो । 

उनकै निर्देशनमा दलित युवामाथि अत्याचार भएको बाहिरिएपछि चर्को विरोध भइरहेको छ । उनलाई कारबाहीको माग गर्दै अभियानले निरन्तर प्रदर्शन गरिरहेको छ । अभियानले नागरिकता फिर्ता गर्ने अभियान चलाउने घोषणा पनि गरेको छ ।

टिप्पणीहरू