यौन दुर्व्यवहारमा दोषी ठहरिएका कृषि विज्ञ राईलाई साढे २ वर्ष कैद

यौन दुर्व्यवहारमा दोषी ठहरिएका कृषि विज्ञ राईलाई साढे २ वर्ष कैद

कृषि विज्ञका रुपमा परिचित मदन राईलाई साढे दुई वर्षको कैद सजाय तोकिएको छ । बाल यौन दुरुपयोगको मुद्दामा उनलाई दोषी ठहर गर्दै जिल्ला अदालत खोटाङले उक्त सजायको फैसला सुनाएको हो । 

न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले माघ १० गते राईलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आज पेशी राखेको थियो । अदालतले एक लाख रुपैयाँ जरिवाना र एक लाख ५० हजार पीडितलाई क्षतिपूर्ति भराउन पनि आदेश गरेको छ ।

आफैंले खोलेको 'शुभद्रा मदन फाउन्डेसन' मा अध्ययनरत किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको अभियोगमा राईविरुद्ध गत वर्ष जेठ २१ गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । उनले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क), (ग), (ङ) अन्तरगतको कसुर गरेको जिकिर गर्दै सजाय मागदावी गरिएको थियो ।

देशकै पहिलो कृषि वैज्ञानिक भनिएका राई यौनका विषयमा खुला अभिव्यक्तिका कारण विवादसँगै चर्चामा आउने गरेका छन् । यौन र यौनांगका विषयमा उनले राख्ने फरक धारणालाई लिएर चर्को आलोचना हुने गरेको छ ।

एक समय उनी डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा समेत आवद्ध थिए । बाबुरामले विषय विज्ञतालाई जोड दिएर संगठन निर्माण गर्दा नयाँ शक्तिको विभागीय प्रमुख रहेका राईले दुई वर्षअघि सो पार्टी छोडेका हुन् ।

टिप्पणीहरू