प्रधानमन्त्री ओलीका तीन तनाव
3.66K shares

‘मुलुककै अभिभावक भइसकेको मान्छे, पार्टीको प्रत्यक्ष कार्यकारी भूमिकामा फर्किने कुरा उचित हो जस्तो लाग्दैन । उहाँ एमालेमा आउने कुरा बाहिर निर्माण गरिएको भाष्य मात्र हो’, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मुखै खोलेर सक्रिय राजनीतिमा आउने इच्छा प्रकट गरेको सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओलीको दोस्रो तहको सहयोगीमध्येका एक प्रदीप ज्ञवालीले अघिल्लो साता यस्तो टिप्पणी गरे । गृह प्रदेश विराटनगर पुगेर पूर्वराष्ट्रपतिले आफू राजनीतिबाट टाढा नरहेको भन्दै एमालेमा फर्किन तयार रहेको अर्थपूर्ण सन्देश दिएको दुई दिनपछि ज्ञवालीको यस्तो टिप्पणी आएको हो ।
पार्टी सदस्यता नवीकरण गराएर एमालेमा फर्किने उपयुक्त समयको पर्खाइमा देखिएकी भण्डारीले हतारिएको संकेत गर्दै सक्रियता बढाउनु र अध्यक्ष ओलीनिकट नेताले खुलेर विमति राख्नुले एमालेभित्रको डाइनामिक्समा ‘पूर्वराष्ट्रपति फ्याक्टर’ हावी हुँदै गएको अर्थ लगाउन थालिएको छ । कतिपयले आन्तरिक शक्ति संरचनामा अध्यक्ष ओली रक्षात्मक बन्दै गएको अर्थ लगाएको पनि पाइन्छ । जे होस्, माधव नेपालहरूको बहिर्गमनपछि एकलौटी पार्टी हाँकिरहेका ओलीका लागि अब भने पूर्वराष्ट्रपति चुनौती बन्ने देखिँदैछ ।
दशौँ महाधिवेशनयता विरोधीविहीन पार्टी चलाइरहनुभएका ओलीमाथि पछिल्लो समय आन्तरिक तथा बाह्य चुनौती बढिरहेको छ । आमरूपमा निरन्तर लोकप्रियता ओरालो लाग्दा पार्टीभित्र पनि विगतमा जस्तो ‘आई लभ यु केपी बा’ भन्नेहरू देखिएका छैनन् । एघारौँ महाधिवेशनमा भण्डारीलाई अघि सारेर ओलीलाई रोक्ने रणनीतिका साथ कर्ण थापा, गोकुल बाँस्कोटा, विनोद ढकालहरूको एउटा खेमा लामो समयदेखि भित्रभित्र सक्रिय रहँदै आएको छ ।
बदलिँदो शक्ति संरचनाबारे जानकार ओलीको भने अर्कै रणनीति देखिन्छ– पूर्वराष्ट्रपति भण्डारीलाई रोक्न उस्तै परे प्रधानमन्त्री छँदै अर्ली महाधिवेशन गरेर अध्यक्षमा तेहेरिने तयारी । पार्टी विधानबाट ७० वर्षे उमेर हदसम्बन्धी प्रावधान डेढ वर्षअघि नै निलम्बन गराउनुभएका उहाँले महाधिवेशनलाई लक्ष्य गरी आफू अनुकूल कार्य विभाजन गराइसकेको स्थिति छ । तथापि भण्डारी राजनीतिमा फर्किंदा नेतृत्व जोगाउन कठिन हुने बुझेका ओलीले सकभर ‘फकाउने’ नभए ‘थर्काउने’ रणनीति एकैसाथ अघि बढाएको अवस्था छ ।
सार्वजनिक मञ्चबाटै पूर्वराष्ट्रपतिलाई ‘गल लगाएर’ पार्टीमा फर्काउने प्रयास नगर्न नेताहरूलाई चेतावनी दिँदै आउनुभएका उहाँले भण्डारीलाई भेटेर सक्रिय राजनीतिमा नआउन आग्रह गरेको बुझिएको छ । गत पुसको अन्तिम साता बसेको सचिवालय बैठक छोडेर ओली एकाएक पूर्वराष्ट्रपति भेट्न भंगाल जानुभएको थियो । सचिवालय सदस्यलाई सामान्य संकेतसमेत नदिई बैठकबाट सिधै त्यहाँ पुग्नुभएका उहाँको विद्यासँग ‘वान टु वान’ वार्ता भयो । त्यसक्रममा ओलीले सक्रिय राजनीतिमा नआउन आग्रह गरेको जानकार स्रोतले बताएको छ । ‘बाहिर बोलेको हिसाबले उहाँहरूको कुरा नमिलेको बुझिन्छ’, स्रोत भन्छ– ‘त्यहाँ पक्का भनियो होला ‘तपाईं नआउनुस्’, तर विद्याले कोशी पुगेर म आउने हो भन्नुले धेरै कुरा प्रष्ट भएन र ! एघारौँ महाधिवेशनमा विद्या अध्यक्षमा लड्न आउने सम्भावनाबारे सोधिएको प्रश्नमा एमाले नेताहरू भन्छन्, ‘उहाँले आन्तरिक तयारी गरिरहनुभएको छ, उपयुक्त समयमा निर्णय लिनुहुन्छ ।’ व्यक्तिवादी प्रवृतिको अन्त्य गर्दै पार्टीलाई जबजको मार्गदर्शनमा चलाउन विद्याको आगमन अनिवार्य भैसकेको तर्क उनीहरूको छ ।
यता, ओलीले निकटहरूसँगको हालैको एउटा भेटमा आफू तीनवटा समस्यासँग जुधिरहेको उल्लेख गर्दै सहयोगको अपेक्षा राखेको अर्को स्रोतले बताएको छ । स्रोतका अनुसार विद्या भण्डारीको सम्भावित राजनीतिक पुनरागमनलाई ओलीले मुख्य समस्या मान्नुभएको छ । त्यस्तै, सामाजिक सञ्जालको पछिल्लो ट्रेण्ड र भारतले दिल्ली भ्रमणको निम्तो नपठाएको विषयलाई पनि समस्याको रूपमा अथ्र्याउनुभएको छ । सरकार र आफूविरुद्ध सामाजिक सञ्जालमा भ्रमपूर्ण प्रचार भैरहेको ओलीको दावी रहँदै आएको छ । यस सन्दर्भमा उहाँ भन्ने गर्नुहुन्छ, ‘सामाजिक सञ्जाल हेर्यो जहाँ पनि गाली गरेको भन्दा केही देखिंदैन । यसले दिनभर मन तरंगित हुन्छ ।’
प्रधानमन्त्री नियुक्त भएलगत्तै दिल्ली जाने इच्छा देखाउनुभएका ओलीलाई ६ महिनासम्म भारतले निम्तो दिएको छैन । परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा र पूर्व परराष्ट्रमन्त्री तथा आफ्नै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीलाई निम्तो माग्न पठाए पनि पार लागेन । पहिलो पटक दिल्ली जाँदा प्रधानमन्त्री सरह स्वागत–सत्कार पाएकी आरजुलाई दोस्रो पटक पूर्णतः बेवास्ता गरिएबाट बिआरआई सम्झौतापछि सम्बन्ध झन चिसिएको प्रष्ट हुन्छ । त्यसैले पछिल्लो समय भारत भ्रमणको प्रसंग आउँदासमेत दिक्क मान्न थाल्नुभएका ओली विश्वासपात्रहरूसँग भन्नुहुन्छ, ‘पहिला बरु एक–दुई दिन बिराएर आइरहन्थे, भेटिरहन्थे । प्रधानमन्त्री भएको मितिदेखि त आउँदै आउँदैनन्, भेट पनि हुन सक्दैन, कुरा पनि हुँदैन । उता मान्छे पठायो रेस्पोन्स हुँदैन । बोलाएको भए पहिले भारत नै जान्थेँ, नबोलाएपछि चाइना गएको हो ।’
3.66K shares
टिप्पणीहरू