बैंक खातामा पाँच हजार, धरौटी पौने तीन करोड

बैंक खातामा पाँच हजार, धरौटी पौने तीन करोड

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा भूतपूर्व उपप्रधान एवम् गृहमन्त्रीको बैंक खातामा मौज्दात पाँच हजार रुपैयाँ देखिन्छ । तर पछिल्लो एक महिनामा चार वटा जिल्ला अदालतमा उनले धरौटी वापत दुई करोड ७९ लाख रुपैयाँ बुझाइसकेका छन् ।

कास्की अदालतको आदेशपछि सांसदबाट निलम्बित लामिछानेले सहकारी ठगी प्रकरणमा मागेजति धरौटी रकम बुझाए पनि उनको बैंक खातामा मौज्दात भने नगण्य देखिन्छ । गत वैशाख ४ गते उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा ग्लोबल आईएमई बैंकमा पाँच हजार र नेपाल बैंक लिमिटेडमा एक लाख पाँच हजार रहेको उल्लेख छ ।

त्यसैगरी श्रीमती निकिताको खाताहरुमध्ये सिद्धार्थ बैंकमा पाँच हजार, नेपाल बैंकमा पाँच लाख, सनराइज बैंकमा १५ हजार, एनआइएमबीमा २८ हजार र प्रभु बैंकमा १० हजार ५१ रुपैयाँ नगद देखिन्छ । कास्की, काठमाडौं, रुपन्देही र चितवन जिल्ला अदालतमा प्रभु बैंकबाट हालसम्म उपलब्ध गराइएको धरौटी रकम दुई करोड ७९ लाख रुपैयाँ पुगेको छ । 

त्यसैगरी श्रीमतीको नाममा बूढानीलकण्ठमा घर किन्दाको बैंक ऋण अझै एक करोड २५ लाख तिर्न बाँकी देखिन्छ । उनको धरौटी र तिर्न बाँकी ऋण गरेर ब्याजबाहेक चार करोड चार लाख पुगेको छ ।

त्यस्तै निकिताको स्वामित्वमा ८० तोला सुन, २० केजी चाँदी र गोपीकृष्ण मुभिजमा सेयर वापत एक करोडको सम्पत्ति रहेको उल्लेख छ । लामिछाने कास्कीमा ६५, काठमाडौंमा ६०, चितवनमा ५४ र रुपन्देहीमा एक करोड रुपैयाँ बैंक धरौटी बुझाएर रिहा भएका हुन् । सम्पत्ति विवरणमा श्रीमतीको बाहेक रविको भक्तपुरमा एक रोपनी एक आना पैतृक जग्गा उल्लेख छ । निकिताले आफ्नो भागमा चाबहिलको गोपीकृष्ण मुभिजको १० रोपनी सगोल जग्गामध्ये २५ प्रतिशत रहेको दाबी गरेकी छन् ।

उनैको नाममा ४२ लाखको टाटा नेक्सन इभी कार, गोपीकृष्ण मुभिज प्रालिमा आठ लाख ७५ हजार कित्ता सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । ८० तोला सुन र २० किलो चाँदीको स्रोत खुलाउँदै उनले केही ससुरालीले दिएको र केही आफूले किनेको दाबी गरेका छन् । गाडी किनिएको स्रोत भने श्रीमान र श्रीमतीको निजी आय र बचत भनिएको छ ।

बैंक खातामा रहेको नगद मौज्दातको स्रोत रविले पारिश्रमिक र तलब जनाएका छन् । श्रीमतीले नारी टिभीबाट प्राप्त पारिश्रमिक, इभेन्ट म्यानेजमेन्ट, युट्युबबाट आएको भएको दाबी गरेको १० महिनाअघिको विवरणमा उल्लेख छ ।

 

Loading WEBGL 3D ...
Loading PDF Worker CORS ...

टिप्पणीहरू