के देखिन्छ, के हुँदैछ भारतको कुम्भमेलामा ?

के देखिन्छ, के हुँदैछ भारतको कुम्भमेलामा ?

चार स्थानमा प्रत्येक १२ वर्षपछि लाग्दैआएको कुम्भमेलामध्ये प्रयागराजमा अर्को मेला शुरु भएको छ । गत माघे संक्रान्तिबाट शुरु भएको यो मेला आउँदो शिवरात्रिसम्म चल्नेछ । यसपटकको कुम्भमेलालाई उत्तर प्रदेश राज्य सरकार र केन्द्र सरकारले सिंगो भारत र हिन्दुत्वको वैभव देखाउने अवसरमा परिणत गरिरहेका छन् । ‘एक सय ४४ वर्षपछि पूर्ण महाकुम्भ पर्व हुन लागेको’ भन्ने भाष्य निर्माण गरिएको छ र यसको ब्यापक प्रचारप्रसार गरिएको छ । आफ्नो जीवनकालमा संयोगले मात्रै यस्तो महाकुम्भमा सहभागिताको अवसर पाएको ठानेर अहिलेसम्म कुम्भमेलामा २० करोडभन्दा बढी हिन्दूले सहभागिता जनाएका छन् । 

१२औं पटकको महाकुम्भ यसपटक भइरहेको प्रचार गरिएको छ तर सनातन धर्मका केही धर्मगुरुले यसप्रति अनविज्ञता प्रकट गरेका छन् । मुख्यतः योगी आदित्यनाथ नेतृत्वको उत्तर प्रदेश सरकारले कुम्भमेलाको व्यवस्थापन र संयोजन गरिरहेको छ । कुम्भमेला क्षेत्रमा मात्रै होइन उत्तर प्रदेशका सबैजसो मुख्य शहरमा १ सय ४४ वर्षपछि हुन लागेको ‘पूर्ण महाकुम्भ पर्व’ भन्ने प्रचार गरिएको छ । महाकुम्भ पर्वलाई ‘सनातन गर्व’को विषयका रुपमा चित्रण गरिएको छ । जन्मौंजन्मको पुण्य उदय भएपछि महाकुम्भ पर्वमा सहभागी भइने भाष्यलाई पनि व्यापक प्रचार गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री योगीको फोटो हरेक प्रचार सामग्रीमा राखिएको छ । 

कुम्भनगरीका हरेक चोक र मार्गहरूमा मोदी–योगीका फोटोसहित महाकुम्भ पर्वको फ्लेक्सप्रिन्ट ब्यानर राखिएका छन् । गंगानदीको सभ्यता र महत्व, केन्द्र र राज्य सरकारले गरिरहेको नमामी गंगे स्वच्छता अभियानका सन्देशहरू प्रदर्शन भइरहेका छन् । महाकुम्भ पर्वलाई केन्द्र र राज्य सरकार दुवैले आफ्नो उपलब्धि र प्रतिष्ठाको विषय बनाएका छन् । कुम्भमेलाको सुरक्षा व्यवस्थापनमा पनि दुबै सरकारको सहभागिता देखिन्छ । 

साविकको इलाहावाद क्षेत्रलाई मोदी सरकारले नयाँ नाम प्रयागराज दिएको छ । हिन्दू सनातनहरूको आस्था जोडिएको प्रयागराज शब्दको प्रयोग सबैतिर व्यापकहरूमा भइरहेको छ । कसैले पनि पछिल्लो समय इलाहावाद भन्न छोडेका छन् । सबैजसोले प्रयागराज भन्दैछन् । पहिलोपटक यसक्षेत्रको भ्रमण गर्ने र पहिलोपटक जानकारी राख्नेका लागि त यो क्षेत्र प्रयागराजबाट परिचित हुने नै भयो । शहर नजिकै गंगा र यमुना नदीको संगम छ । दुवै नदीको मुहान उत्तराखण्ड राज्यको हिमालय क्षेत्रमा पर्दछ । गंगा नदी हरिद्वार र उत्तर प्रदेशको उत्तरी भूभाग हुँदै पूर्वतर्फ बग्दै आएको छ । यमुना नदी भने उत्तराखण्ड राज्यको पश्चिमी क्षेत्र र भारतको राजधानी दिल्ली हुँदै उत्तर प्रदेशको दक्षिणी क्षेत्र भएर पूर्वतर्फ बगेको छ । यी दुबै नदीको संगम क्षेत्र भनेको प्रयागराज हो । हिन्दू संस्कृतिको मान्यताअनुसार प्रयागराज गंगा र यमुना नदीको साथै सरस्वती नदीको पनि संगम हो । वर्तमानमा सरस्वती नदीको भौतिक अस्तित्व देखिँदैन । तर सबैजसो हिन्दूले गंगा, यमुना र सरस्वतीको संगमका रूपमा प्रयागराज तीर्थलाई त्रिवेणी मान्दै आएका छन् ।

अयोध्याको राममन्दिर उद्घाटनमा नेपाल सरकारलाई उपेक्षा गरे जस्तै प्रयागराज कुम्भपर्वमा पनि भारतीय पक्षले वास्ता नगरेको हो कि भन्ने बुझाइ छ ।

जनवरी १४ अर्थात माघे संक्रान्तिदेखि शुरुभएको महाकुम्भ पर्वका निम्ति प्रयागराज जिल्लाको त्रिवेणी क्षेत्रमा १२ किलोमिटर लामो नदी किनार क्षेत्रमा स्नानघाट बनाइएका छन् । विश्वकै सबैभन्दा बढी तीर्थयात्रीहरूको सहभागिता हुने पर्वमा मुख्यमन्त्री योगीले यसपटक ४० करोड बढी तीर्थयात्रीले सहभागिता जनाउने प्रक्षेपण गरेका छन् ।

कुम्भमेलाको व्यवस्थापनका लागि ३० वटा सेक्टर निर्धारण गरिएका छन् । गंगा र यमुना नदीको तटीय क्षेत्रमा टेन्टहरूको शहर बसालिएको छ । बगरक्षेत्रमा फराकिला सडक, विद्युतीकरण, खानेपानी र शौचालय सुविधा विस्तार गरिएको छ । सडकहरूको नामांकरण गरिएको छ भने टेन्ट र कर्कटपाताका अस्थायी घर संरचना निर्माण गरिएका छन् । साधुसन्त र महात्माहरूका अखाडा र आश्रमहरूका संरचना निर्माण पनि राज्य सरकारले गरिदिएको छ । मेलाको व्यवस्थापनमा साढे ६ हजार करोड भारतीय रूपयाँ खर्च भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

महाकुम्भ मेलामा सहभागी हुने हरेक साधुसन्त र अखाडाहरूलाई छुट्टाछुट्टै आवास परिसर बनाइएको छ । हिन्दू परम्पराका १३ वटा प्रमुख अखाडाहरूलाई हजारौं साधु र भक्तहरू बस्नेगरी छुट्टाछुट्टै कम्पाउण्ड दिइएको छ । आफ्नो संस्कार र परम्पराअनुसार हरेक साधुसन्त, अखाडा र आश्रमहरूमा नित्य पूजापाठ, आरती, प्रवचन, हवन जस्ता कार्य भइरहेका छन् । सुरक्षाकर्मी नखटिएको कुनै मार्ग र चोक छैन । एसएसबी, बिएसएफ, सिआरपिएफजस्ता अर्धसैनिक बलका दस्ताहरूले कुम्भमेलामा उत्तर प्रदेश प्रहरीसंग अग्रपंक्तिमा सुरक्षा दिइरहेका छन् । गंगा र यमुना नदीमाथि ३० वटा अस्थायी पेन्टुन ब्रिज (पुल) राखिएका छन् । आवतजावत र स्नान आदि कार्यमा सहभागी हुन यी पुलहरू प्रयोग भइरहेका छन् । भारतीय नौसेनाले सम्भावित नदीजन्य दुर्घटनाको निगरानी गरिरहेको छ । वायुसेनाका हेलिकोप्टरहरूले दैनिक हवाइगस्ती गरिरहेका छन् । कुम्भमेलामा डिजिटल सुरक्षा निगरानी भइरहेको प्रदेश सरकारले बताएको छ । लखनउस्थित मुख्यमन्त्री कार्यालयबाट समेत कुम्भमेलामा सुरक्षा व्यवस्थाको कन्ट्रोल भइरहेको बताइन्छ । 

हालसम्म महाकुम्भ पर्वअन्तर्गत तीनवटा शाही (अमृत) स्नान सम्पन्न भएका छन् । माघे संक्रान्तिको प्रथम शाही स्नानपछि माघ १६ गते औंशी तिथिमा दोस्रो स्नान गरिएको छ । अपेक्षाभन्दा बढी भीड भएपछि दोस्रो शाही स्नानमा भागदौड हुँदा त्रिवेणी संगम क्षेत्रमा ३० जनाको ज्यान गएको छ । ५० भन्दा बढी घाइते भएका छन् । प्रदेश सरकारले भागदौडमा ज्यान गएकाहरूको वास्तविक संख्या लुकाएको भन्दै प्रश्न पनि उठेको छ । माघ १ गतेको पहिलो शाही स्नानमा साढे ३ करोड नागरिकले भाग लिएको बताइन्छ । दोस्रो स्नानमा ९ करोडभन्दा बढीको सहभागिता भएको तथ्यांक छ । यसैगरी माघ २१ गते बसन्तपञ्चमीको दिन भएको तेस्रो शाही स्नानमा २ करोड बढीको सहभागिता रहेको छ । उत्तर प्रदेश राज्य परिवहन निगमले मात्रै दैनिक ८ हजार बस कुम्भमेलामा परिचालन गरिरहेको छ ।

२८ वटा शहरबाट प्रयागराजसम्म दैनिक हवाइसेवा सञ्चालन भइरहेको छ । आधा दर्जन रेलवे स्टेशनबाट दैनिक लाखौं यात्रुले आवतजावत गरिरहेका छन् । पर्व शुरु हुनुभन्दा दुई दिनअघि भारतका गृहमन्त्री अमित शाहले प्रयागराजको यात्रा गरेका थिए । मोदीपछि प्रधानमन्त्री पदको सम्भावित पात्र ठानिएका अमित शाहलाई अर्का सम्भावित पात्र योगी आदित्यनाथले स्वागत गरेका थिए । दुबैबीच एकआपसमा कुनै मनमुटाव नरहेको र महाकुम्भ पर्वलाई सफल पार्न दुबै सरकार एकसाथ रहेको सन्देश पनि दिन खोजिएको छ । कतिपयले अमित शाहलाई चकित पार्नेगरी योगीले कुम्भमेलाको व्यवस्थापन गरेको पनि बताएका छन् । केही दिनअघि दिल्ली विधानसभाको निर्वाचनमा भाजपाको जित भएको पृष्ठभूमिमा गृहमन्त्री अमित शाहले प्रधानमन्त्रीमा मोदीको निरन्तरता हुने प्रतिक्रिया दिएका छन् । 

माघ १६ गते औसीको शाही स्नानमा भएको घटनामा ज्यान गुमाएकाहरूका परिवारजनलाई प्रदेश सरकारले जनही २५ लाख भारु सहयोगको घोषणा गरेको छ । उत्तराखण्डमा पर्ने बद्रीनाथ जोशीमठका शंकराचार्य अभिमुक्तिश्वरानन्द सरस्वतीले त योगीको राजीनामा नै मागेका छन् । भागदौडको घटनाको वास्तविकता लुकाइएको र सुरक्षा व्यवस्थापनमा सरकार संवेदनशील नभएको भन्दै उनले योगी सरकारको आलोचना गरेका छन् । उनले प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह र विजेपी अध्यक्ष जेपी नड्डालाई पत्र नै लेखेर मुख्यमन्त्रीबाट योगीलाई हटाउन आग्रह गरेका छन् । नेपाललगायत विश्वको अन्य देशबाट पनि कुम्भमेलामा लाखौं यात्रुले सहभागिता जनाएका छन् । प्रयागराजको महाकुम्भ मेलासँगै दिल्ली विधानसभा निर्वाचनको मतपरिणामले पनि बिजेपी पक्षधर हिन्दूहरूलाई खुशी बनाएको छ । 

मोदीले माघ २३ गते अर्थात् फरवरी ५ मा प्रयागराज संगमक्षेत्रमा स्नान गरेका छन् । त्यसभन्दा एक दिनअघि भुटानका नरेशले कुम्भमेलामा सहभागिता जनाएका छन् । माघ २८ गते सोमबार राष्ट्रपति द्रौपति मुर्मुले पनि प्रयागराजको दर्शन गरेका छन् । नेपाल सरकारको तर्फबाट अहिलेसम्म राजकीय रूपमा कसैले कुम्भमेलामा सहभागिता जनाएका छैनन् । सरकार–सरकारबीच रहेको अविश्वास, असन्तुष्टि र खटपट महाकुम्भजस्तो धार्मिक र सांस्कृतिक पर्वमा देखिएको आशंका छ । अयोध्याको राममन्दिर उद्घाटनमा नेपाल सरकारलाई उपेक्षा गरे जस्तै प्रयागराज कुम्भपर्वमा पनि भारतीय पक्षले वास्ता नगरेको हो कि भन्ने बुझाइ छ । मुख्यमन्त्री योगीसंग सम्बन्ध रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको सहभागिता पनि अहिलेसम्म देखिएको छैन । सन् २०२१ को हरिद्वार मेलामा भने निरञ्जनी अखाडाका आचार्य महामण्डलेश्वर कैलाशानन्द गिरीको निम्तामा पूर्वराजा सहभागी भएका थिए ।

कुम्भमेलामा नागा साधुहरूको चर्चा र आकर्षण देखिएको छ । सनातन परम्पराका १३ वटा अखाडामा मात्रै होइन मेलाक्षेत्रभरि छरिएर रहेका नागा साधुहरूको क्रियाकलाप हेर्नेको भीड छ । आउँदो शिवरात्रि (फागुन १४ गते)सम्म सञ्चालन हुने कुम्भमेलाका प्रमुख शाही स्नानहरू सम्पन्न भइसकेका छन् । राजसी ठाँटबाटका साथ साधुसन्त र धर्मगुरुले नदी संगम क्षेत्रमा स्नान गर्ने भएकाले यसलाई शाही स्नान भनिन्छ । यसपटक शाही स्नानलाई अमृत स्नानको नाम दिइएको छ । शाही भन्ने शब्द मुस्लिम सभ्यतामा प्रचलित भएकाले यसलाई अमृत स्नान नाम दिइएको बताइन्छ । माघे संक्रान्ति, माघ कृष्ण औंशी र माघ शुक्ल पञ्चमी (वसन्त पञ्चमी)का तीनवटै अमृत स्नान सम्पन्न भएका छन् ।

-प्रयागराज (भारत)बाट फर्केपछि  

टिप्पणीहरू