लागुऔषध सेवनको परिणाम : पहिले साइकल चोरी, अहिले महँगो गाडी

नेपालीमा उखान छ ,‘सियो चोर्नेले फाली चोर्छ, फाली चोर्नेले घर फोर्छ ।’ यसलाई चरितार्थ गरेका छन् विराटनगर ४ का २४ वर्षे लागूऔषध प्रयोगकर्ता युवा मन्तोष बिनले । पहिले लागूऔषध सेवनका लागि साइकल चोर्दै आएका मन्तोषले हिजो बिहानीपख २ बजे विराटनगरको मुख्य राजमार्गमा रहेको शोरुमको सिसा फुटाएर ८० लाख रुपैयाँ पर्ने कार चोरेका हुन् ।
चोरेको कार आफैँले चलाएर सुनसरीको नाका हुँदै भारततर्फ कार लैजाँदै गर्दा पेट्रोल सकिएपछि उनी कारसहित प्रहरीको फन्दामा परेको बताइन्छ । कन्चनबारीस्थित एयरपोर्ट मोडमा रहेको पूजा इन्टरनेसनलको शोरुम भित्र राखिएको बा.०१३० च ८५८१ नम्बरको रातो रंगको टिगुन मोडलको कार चोरी भएको म्यानेजर ईन्द्रराज श्रेष्ठले मोरङ प्रहरीलाई बिहान ८ बजे जानकारी गराएका थिए ।
एसपी नारायणप्रसाद चिमोरिया आफैँ टोलीको नेतृत्व गर्दै तत्काल घटनास्थलमा खटिए । सिसीटिभी फुटेज अवलोकनपछि कारको खोजी गरियो । अनटेस्ट लेखिएको उक्त कार भारततर्फ लगिएको आशंकामा मोरङ, सुनसरी र कोशी प्रदेश प्रहरीको अनुसन्धान टोली खोजीमा जुटेको बताइन्छ । चार घण्टापछि सुनसरीको गढी गाउँपालिका ४ को छिटाहा नहरको डिलमा रातो नयाँ कार रोकिएको खबर प्रहरीले पायो ।
पेट्रोल सकिएर भारत पुर्याउन नसकेको अवस्थामा कारलाई मन्तोषसहित प्रहरीले नियन्त्रणमा लिएको हो । कार गढीगाउँपालिकाको छिटाहा हुँदै नर्सिङग गाउँपालिकाको सीमानाका प्रयोग गरेर भारततर्फ लैजान खोजिएको प्रष्ट भएको प्रहरीको बुझाई छ । सिसीटिभी फुटेजमा देखिएका व्यक्ति र कारसँगै फेला परेकाको हुलिया हुबहु मिलेपछि प्रहरी उक्त निष्कर्षमा पुगेको थियो । पक्राउ परेका मन्तोषलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।
पारदर्शी सिसा लगाइएको शोरुमभित्र राखिएको कार चोर्न उनी सिसा फुटाएर भित्र पसेका थिए । त्यहिँको घर्रामा रहेको साँचोले कार स्टार्ट गरेर बाहिर लगेको देखिन्छ । घर्रामा रहेको नम्बर प्लेट पनि पछाडिको सिटमा राखेर लगेका थिए । कार चोरी भएको शोरुमस्थल विराटनगरको निकै व्यस्त मध्येको एक स्थान हो ।
टिप्पणीहरू