उपप्रधानमन्त्री र मेयरलाई भेट्न रोक, उपचारमा आधा दर्जन डाक्टर टोली

उपप्रधानमन्त्री र मेयरलाई भेट्न रोक, उपचारमा आधा दर्जन डाक्टर टोली
सुन्नुहोस्

कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भेट्न पूर्ण रुपमा रोक लगाइएको छ । पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन पड्किएपछि घाइते हुनुभएका उहाँहरुलाई संक्रमण बढ्ने जोखिम देखिएकाले भेटघाटमा रोक लगाइएको अस्पतालले जनाएको छ । 

भर्खरै जारी विज्ञप्तिमा अस्पताले उहाँहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएको छ । ‘माननीय उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य हिजोदेखि सघन उपचार कक्षमा उपचारको लागि भर्ना हुनुभएकोमा रातभरि उहाँहरुको अवस्था सामान्य नै रहेको र हिजोभन्दा आज सुधारोन्मुख रहेको जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

हाललाई अवस्था सामान्य भएपनि संक्रमणको डर बढेकाले भेटघाट अर्को सूचना जारी नभएसम्म पूर्ण रुपमा बन्द गरिएको हो । बेलुनमा आगो लागेपछि पड्किएर घाइते हुनुभएका उहाँहरुलाई हिजै सिम्रिक एअरको हेलिकप्टरमा कीर्तिपुर बर्न अस्पताल ल्याइएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान अस्पताल पुगेर उहाँहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । 

उहाँहरुको उपचारमा प्रा.डा. बिडी झा, डा. प्रविण गिरी, प्रा.डा. शंकरमान राई, डा. विशाल कार्की, डा. मनिष यादव, डा. प्रयुस अर्याललगायतको विशेषज्ञहरुको टोली खटिएको छ ।

टिप्पणीहरू