चार करोड अमेरिकी अनुदान रद्द

अमेरिकाले नेपाललाई उपलब्ध गराउने भनिएको झण्डै चार करोड डलर रोक्का गरेको छ । इलोन मस्क नेतृत्वको त्यहाँको सरकारी दक्षता विभाग (डज) नेपाललाई उपलब्ध गराउने भनिएको ‘आर्थिक संघीयता र जैविक विविधता संरक्षण’ परियोजनाको तीन करोड नब्बे लाख अमेरिकी डलरको अनुदान रद्द गरेको जनाएको छ ।
डजले आर्थिक संघीयता शीर्षकअन्तर्गत दुई करोड र जैविक विविधता संरक्षण शीर्षकको एक करोड ९० लाख डलर अनुदान रद्द गरेको छ । संघीय खर्च कटौती तथा सरकारको कार्यदक्षता र उत्पादकत्व वृद्धिका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कको नेतृत्वमा सरकारी दक्षता विभाग डजको गठन गरेपछि एकपछि अर्को यस्ता निर्णय भएका छन् ।
नेपाललगायत विश्वका विभिन्न मुलुकलाई उपलब्ध गराउन यसअघिको बाइडेन सरकारले स्वीकृत गरेका परियोजना बजेट सबै रद्द गरिएको छ । सामाजिक सञ्जाल एक्समा जनाइएअनुसार नेपालसहित भारत, बंगलादेश, श्रीलंका, माली, दक्षिण अफ्रिकालगायत विभिन्न मुलुकलाई प्रदान गर्ने भनिएको ७२ करोड १५ लाख अमेरिकी डलर अनुदान रद्द गरिएको हो ।
अमेरिकाले भारतलाई ‘भोटर टर्नआउट’ का लागि दुई करोड १० लाख डलर र बंगलादेशमा राजनीतिक परिदृश्य सुदृढीकरणका लागि दुई करोड ९० लाख डलर अनुदान छुट्टयाएको थियो । बंगलादेशमा गत अगष्टमा भएको प्रधानमन्त्री शेख हसिनाको सत्ता पलटमा अमेरिकाको हात रहेको आरोप लाग्दै आएको छ ।
टिप्पणीहरू