होस्टलमा मृत भेटिएकी युवतीका पूर्वप्रेमी पक्राउ

होस्टलमा मृत भेटिएकी युवतीका पूर्वप्रेमी पक्राउ
सुन्नुहोस्

भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टलमा नेपाली युवती मृत भेटिएको घटनामा पूर्वप्रेमी पक्राउ परेका छन् । बि–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल हिजो साँझ होस्टलमा मृत भेटिएकी थिइन् । 

उनले आत्महत्या गरेको हुनसक्ने आशंका भइरहदा प्रहरीले एदविक श्रीवास्तवलाई नियन्त्रणमा लिएको छ । प्रकृतिले केहि समयअघि कलेज प्रशासनलाई आफूमाथि यौन दुव्र्यवहारको प्रयास भएको जानकारी गराउँदै सहयोग मागेको तथ्य बाहिरिएको छ । तर कलेज प्रशासनले उनको याचनालाई खासै चासो नदिएको पनि भारतीय सञ्चारमाध्मले जनाएका छन् । प्रकृतिका साथीहरुले पूर्वप्रमीले लामो समयदेखि दुःख दिइरहेको बयान प्रहरीसमक्ष दिएका छन् । 

पूर्व प्रेमी भनिएका श्रीवास्तव पनि सोही कलेजमा मेकानिकल इन्जिनियरिङ विषय  अध्ययनरत रहेको बताइएको छ । घटनाको सत्यतथ्य छानबिनको माग गर्दै कलेजमा अध्ययनरत एक हजार बढी नेपाली विद्यार्थीले हिजो साँझ प्रदर्शनसमेत गरेका थिए । तर कलेजले प्रदर्शनमा दमन गरेको र आज नेपाली विद्यार्थीहरुलाई होस्टल छाड्न निर्देशन दिएको छ । 

यता राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले आजको प्रतिनिधिसभा बैठकमा प्रकृतिको मृत्युबारे बोल्न खोजेको तर सभामुख देवराज घिमिरेले समय नदिएपछि झोक्किएर बैठक छाडेको पार्टीका नेताहरुले बताएका छन् ।

टिप्पणीहरू