घाइते सचिव अस्पतालमा, वडाध्यक्ष हिरासतमा, स्थानीय कारबाहीको प्रतिक्षामा

घाइते सचिव अस्पतालमा, वडाध्यक्ष हिरासतमा, स्थानीय कारबाहीको प्रतिक्षामा

यदुनाथ बन्जारा  

वडा कार्यालयका सचिवमाथि निर्घात कुटपिट गर्ने तनहुँको बन्दीपुर गाउँपालिका ६ का वडाध्यक्ष बलबहादुर गुरुङ प्रहरी हिरासतमा छन् । घाइते सचिव नवीन भुसाललाई थप उपचारको निम्ति हिजै साँझ भरतपुर लगिएको छ ।

वडाध्यक्ष गुरुङले हिजो बिहान साढे १० बजे कार्यालयमा सचिव भुसाललाई निर्घाते कुटपिट गरेका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यका अनुसार वडाध्यक्षले सचिवलाई दस्तखत गर्न दिएको कागजातमा तत्काल हस्ताक्षर नगरेपछि मुक्काएका थिए ।

गुरुङले सचिवको घाँटी अठ्याएर मुक्का प्रहार गरेका थिए । कार्यालयभित्रै वडा सचिवमाथि कुटपिट गरिएको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए ।     घाइते सचिवलाई बन्दीपुर अस्पतालमा प्रारम्भिक उपचारपछि आफन्तले भरतपुर अस्पताल लगेका हुन् । 

वडाध्यक्ष बलबहादुरलाई प्रहरीले इलाका प्रहरी कार्यालय डुम्रको हिरासतमा राखेको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले गुरुङलाई छानबिनपछि कानुनबमोजिम कारबाही गरिने बताए । वडाध्यक्ष गुरुङ एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।  

सत्तारुढ दलका वडाध्यक्षमाथि हुने कारबाहीप्रति स्थानीय व्यग्र प्रतिक्षामा देखिन्छन् । हालै ठमेलमा ड्युटीमा खटिएका प्रहरी कुट्ने एमाले कार्यकर्तालाई सरकारको निर्देशनमा जोगाइएको घटनालाई लिएर स्थानीय सशंकित भएका हुन् । यता कर्मचारी संघ संगठनले पनि वडाध्यक्षमाथि कारबाहीको माग गरेका छन । 

टिप्पणीहरू