स्कुल बस दुर्घटनापछि सर्वत्र चिन्ता, नियमनकारी निकायको निष्क्रियता

काठमाडौंको शंखरापुर नगरपालिका–५ मा माघ ३० गते स्कुल बस दुर्घटनामा पर्यो । चाबहिलको मैजुबहालमा रहेको सत्य साई एकेडेमीका विद्यार्थी बोकेर पिकनिक गएको बा. २ ख ७९५८ नम्बरको बस नगरकोटबाट फर्किने क्रममा दुर्घटनामा परेको हो । सिन्धुपाल्चोकको चौताराका ३९ वर्षीय मनिष माझीले चलाएको बस ब्रेकफेल भएर दुर्घटना हुँदा चार जनाको मृत्यु भयो ।
त्यसको चार दिनअघि माघ २७ गते स्कुल बस भीरबाट खसेको थियो । दक्षिणकाली नगरपालिका–३ स्थित जुनकिरी बोर्डिङ्ग स्कुलको बस भञ्ज्याङ्गको ओरालोबाट झण्डै ८० मीटर तल खसेको हो । उक्त दुर्घटनामा परेर चालकसहित अर्का एक विद्यार्थीको ज्यान गयो । चार दिनको अन्तरालमा दुईवटा स्कुल बस दुर्घटनामा परेपछि शिक्षा, प्रविधि तथा विज्ञान मन्त्रालयले विज्ञप्ति जारी गरेर ‘स्कुल बस निर्देशिका, २०७४’ बमोजिम स्कुल बस सञ्चालन गर्न निर्देशन दिएको छ ।
त्यसैगरी, विद्यालय बस सञ्चालनका लागि तोकिएका मापदण्ड पालना गर्न–गराउन, अनुमगन गर्न र दुर्घटनाका कारण पत्ता लगाई दोषीउपर कारबाही गर्न सम्बन्धित मन्त्रालय, ट्राफिक प्रहरी र स्थानीय प्रशासनसमक्ष आग्रह गरेको छ । ‘स्कुल बस निर्देशिका, २०७४’ मा विद्यालय, विद्यार्थी, अभिभावक र चालकले निर्वाह गर्नुपर्ने मापदण्ड उल्लेख छ ।
स्कुल बसको बाहिरको रंग पहेँलो हुनुपर्ने, अगाडि र पछाडि कालो रंगले ‘स्कुल बस’ लेख्नुपर्ने, १५० मिलिमिटर उचाइको गोल्डेन ब्राउन रंगमा स्कुलको नाम दुवैपट्टी झ्यालको लेभलभन्दा तल लेख्नुपर्नेलगायतका भौतिक मापदण्ड छ । त्यसैगरी, प्राथमिक उपचार किट, अग्नि नियन्त्रण उपकरण, परिचालकको अनिवार्य व्यवस्था गर्नुपर्ने छ ।
उमेर १२ वर्षभन्दा मूनिका विद्यार्थीको हकमा बसको सिट क्षमताभन्दा १.५ गुणा विद्यार्थी ओसार्न सकिने प्रावधान छ । १२ वर्षभन्दा माथिका विद्यार्थीको हकमा सिट क्षमता बराबरको संख्यामा मात्र विद्यार्थी राख्न पाइन्छ । स्कुल बसभित्र धुम्रपान तथा मदिरापान गर्न मनाही छ । तर, नियमनको अभावले गर्दा कुनैपनि मापदण्डको पालना भएको छैन ।
थोत्रा, पुराना गाडीहरु स्कुल बसको रुपमा प्रयोग हुँदै आइरहेको छ । राजधानीमा चल्ने स्कुल बसहरुको अवस्था एकदमै दयनीय छ भने बाहिरी जिल्लामा के हालत होला ? स्कुल महँगा भएपनि बसचाहीँ थोत्रा चलाइएको पाइन्छ । नाम चलेका स्कुलहरुले लोकल रुटमा चल्ने सवारी साधनलाई स्कुल बस बनाएका छन् । ती गाडीले बिहान र बेलुका विद्यार्थी बोक्छन् भने दिनभर यात्रु ।
विद्यार्थीलाई छिटो स्कुल पुर्याएर यात्रु बोक्न ओसार्ने चालकहरुको ध्याउन्न हुन्छ । जसका कारण अबोध बालबालिकाले अकालमा ज्यान गुमाउनुपरेको छ । सवारी साधन शीर्षकमा मासिक मोटो रकम असुल्ने विद्यालयहरुले सुरक्षामा हेलचेक्य्राइँ गरेको पाइन्छ ।
यात्रु बोकेपछिका थोत्रा गाडी ‘स्कुल बस’
सरकारले सार्वजनिक यातायातमा २० वर्षे नीति कार्यान्वयन गरेको छ । निजीको हकमा भने सो व्यवस्था लागू गरिएको छैन । २० वर्ष पुग्न लागेका सार्वजनिक यातायातलाई कालोबाट रातो नम्बर प्लेटको बनाइन्छ । र, त्यो स्कुल बसको रुपमा प्रयोग गरिन्छ । झ्यालको सिसा फुटेको, सिट च्यातिएको, किल्ला निस्किएको, हेड र साइड लाइट फुटेको सवारी साधन विद्यार्थी बोकेर गुडिरहेको देखिन्छ ।
गाडीको अवस्था ठीक छ–छैन भन्नेबारे कुनै अनुगमन गरिँदैन । अर्कोतर्फ, स्कुल बसमा सिटभन्दा बढी विद्यार्थी राख्ने गरिएको छ । सरकारले स्कुल बसले हाल्न पाउने विद्यार्थीको संख्या तोकिदिए पनि स्कुलहरुले टेरेका छैनन् । एउटै गाडीमा धेरै विद्यार्थी हालेर पैसा कमाउने धुनमा रहेका विद्यालयहरुले मापदण्डको धज्जी उडाउँदै आएका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका प्रतिष्ठित निजी विद्यालयका बस कोचाकोच विद्यार्थी हालेर दौडाइरहेको देखिन्छ । तर, ट्राफिक प्रहरीले त्यस्ता बसलाई अनुगमन गरेर कारबाही गर्न चासो देखाएको पाईंदैन ।
मापसेमा ‘मस्त’ चालक
मापसे गरेर सवारी साधन चलाउन पाइँदैन । तर, स्कुल बस चालकहरुलाई राति खाएको रक्सीले बिहानसम्म नछाड्ने बताइन्छ । मदिराकै तालमा बस चलाउँदा दुर्घटना हुने गरेको आरोप छ । ट्राफिक प्रहरीले स्कुल बस चालकहरुको आक्कलझुक्कल मापसे जाँच गर्छन् । तर, त्यो नियमित हुन नसक्दा चालकहरु मादक पदार्थ सेवन गरेरै गाडी चलाउँछन् । त्यसैगरी, लापसे गरेर बस हुँइकाउने चालक पनि उत्तिकै छन् ।
बढाइयो निगरानी
स्कुल बस दुर्घटना बढेपछि ट्राफिक प्रहरीले केही दिनयता निगरानी बढाएको छ । ठाउँ–ठाउँमा स्कुल बस रोकेर अनुगमन गर्न थालिएको छ । तर, त्यो केही दिनको लागि मात्र भएको सर्वसाधारणको भनाइ छ । घटना भएको केही समय तात्ने र सेलाउने प्रवृत्ति सँधैको हो । एक जना सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्,‘कति दिनको चटक हो यो ?’ त्यस्तै, अर्कोले गाडीको कण्डिसन चेक गर्नुपर्ने माग राखेका छन् ।
‘स्कुल बसको कण्डिसन चेक गर्नुपर्छ अनि सिटभन्दा बढी यात्रु राखेको छ कि छैन् त्यो पनि हेर्नुपर्छ’, उनले भनेका छन् । थोत्रा गाडी राख्ने स्कुलका प्रिन्सिपललाई कारबाहीको माग गरिएको छ । सामाजिक सञ्जालमा लेखिएको छ,‘पुराना गाडी स्कुलमा राख्न दिनुहुँदैन । पुराना गाडी स्कुलमा राख्ने सञ्चालक र प्रिन्सिपललाई कारबाही हुनुपर्छ ।’
स्कुल बसमा पनि २० वर्षे लागूको माग
यातायात अभियन्ता प्रेमबहादुर थापा स्कुल बसमा सार्वजनिक यातायातझैं २० वर्षे लागू गर्नुपर्ने बताउँछन् । विभिन्न जिल्लामा गुडाएर थोत्रा बनाइसकेको गाडी स्कुल बसको रुपमा प्रयोग गरिएको उल्लेख गर्दै उनले त्यसको अन्त्य हुनुपर्नेमा जोड दिए । स्कुलहरुले नाफाको विषयमा मात्र सोच्दा त्यसको क्षति अभिभावकसँगै राष्ट्रले समेत व्यहोर्नुपरेको छ ।
उनी भन्छन्,‘स्कुलहरु नाफामुखी भए । पैसा भए पुग्यो । तर, विद्यार्थीको ज्यानको सुरक्षा कसले लिने ? थोत्रा गाडी चलाएर विद्यार्थीको ज्यान लिन मिल्छ ? सरकारले स्कुल बसहरुमा पनि २० वर्षे लागू गर्नुपर्छ । नत्र थोत्रा गाडी चलाएर विद्यार्थी मार्ने क्रममा जारी रहन्छ’,उनले भने । त्यसैगरी, उनले अभिभावकलाई जिम्मेवार हुन सुझाव दिए । आफ्नो सन्तान चढ्ने बस कति वर्ष पुरानो हो ? त्यसको कण्डिशन कस्तो छ ? बारे अभिभावक जानकार हुनुपर्ने उनको भनाइ छ ।
यता, बढ्दो स्कुल बस दुर्घटनाको विषयमा संसदमा पनि आवाज उठेको छ । सांसद राजेन्द्रकुमार केसीले प्रभावकारी रुपमा स्कुल बसको अनुगमन गर्नुपर्नेमा जोड दिए । ग्रामीण क्षेत्रमा लामो समय चलाइएको बस ल्याएर स्कुलमा चलाउने क्रम रोक्नुपर्ने भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
धमाधम कारबाही गरिरहेका छौं : ट्राफिक प्रहरी
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सञ्जयबहादुर राउतले पाँच दिनमा ८० वटा स्कुल बसलाई कारबाही गरिएको बताए । अनुगमनका क्रममा अवस्था ठीक नभएका स्कुल बस बढी भेटिएको उनको भनाइ छ । त्यसैगरी, मापसे र लापसे गरी बस चलाउने चालकमाथि मुद्दा चलाइएको उनले जानकारी दिए ।
उनका अनुसार तीन सय बढी चालकलाई सम्झाईबुझाई गरिएको छ । ‘तीव्र रुपमा अनुगमन भइरहेको छ । ट्राफिक प्रहरीहरु खटिएर अनुगमन गरिरहनुभएको छ । लागूऔषध र मादक पदार्थ सेवन गरेर गाडी चलाउने धेरै भेटिएका छन् । हामीले केहीमाथि मुद्दा पनि चलाएका छौं’,उनले भने ।
टिप्पणीहरू