अन्तिम क्षणमा काँग्रेस सभापतिको भारत यात्रा रद्ध

अन्तिम क्षणमा काँग्रेस सभापतिको भारत यात्रा रद्ध
सुन्नुहोस्

पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्ध भएको छ । उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा सहभागी भएर सोही स्थानमा इण्डिया फाउण्डेसनले गर्न लागेको कार्यक्रमलाई सम्बोधन गर्न जान लाग्नुभएका देउवाको यात्रा रोकिएको हो ।

उहाँ र निजी सचिव भानु देउवासँगै जगदम्बा इन्टरप्राइजेजका अध्यक्ष अनिल रुंगटा एअर इण्डियाको उडानमा दिउँसो ३ बजे नयाँ दिल्लीतर्फ जाने कार्यक्रम थियो । बूढानीलकण्ठस्थित निवासबाट विमानस्थलतर्फ जाने तयारी हुँदै गर्दा देउवाको भ्रमण एकाएक रोकियो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति भारत नजाने पुष्टि गरे पनि कारण भने खुलाएका छैनन् ।

बुझिएअनुसार भारतसँग सम्बन्ध सुधारको प्रयासमा रहेका देउवा तीर्थाटनको अवसर पारेर दिल्लीमा उच्चस्तरीय भेटघाट गर्न चाहनुहुन्थ्यो । तर भारतीय संस्थापनले त्यसअनुसार महत्व नदिएपछि भ्रमण क्यासिल गरेको बताइएको छ ।

देउवा पत्नी तथा परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा बिहान स्वदेश आइपुग्नुभएको छ । उहाँ ओमानमा आयोजित इण्डियन ओशन सम्मेलनमा भाग लिएर दोहा हुँदै कतार एअरवेजको उडानमा बिहान साढे १० बजे काठमाडौं आउनुभएको हो । 

सभापति देउवासँग जान लागेका रुँगटा जगदम्बा मेटल क्राफ्ट्सका प्रोपाइटर हुन् । उनी फलामे तार उत्पादन तथा निर्यात गर्ने वायर नेटका पनि मालिक हुन् । विशाल हार्डवेयर,विशाल सप्लायर्स एण्ड वुड इन्टरप्राइजेज पनि उनैको हो ।
 

टिप्पणीहरू