एउटा ज्ञानेन्द्रको कुराले हौसिएका राजावादी अर्को ज्ञानेन्द्रको कुराले क्रुद्ध

एउटा ज्ञानेन्द्रको कुराले हौसिएका राजावादी अर्को ज्ञानेन्द्रको कुराले क्रुद्ध
सुन्नुहोस्

पूर्वराजा ज्ञानेन्द्र शाहले व्यवस्था परिवर्तनका लागि संघर्षमा उत्रिन आह्वान गरेपछि यतिबेला राजावादी कित्तामा खुशियाली छाएको छ । राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा सडक र सदनमा आवाज चर्काइरहेको पूर्वपञ्चहरुको पार्टी राप्रपादेखि सडकमा कराउँदै हिँड्ने दुर्गा प्रसाईंसम्म हर्षित देखिएका छन् । 

हुन त ज्ञानेन्द्र राजतन्त्रको पक्षमा बोलेको यो नै पहिलो पटक होइन । तर, प्रजातन्त्र दिवसको अवसरमा उनले भिडियोमार्फत् शुभकामना सन्देश सार्वजनिक गर्दै पुनः शक्तिमा फर्किने प्रष्ट चाहना व्यक्त गरेपछि राजावादी खेमा हैसिएको हो । त्यसप्रति नाम कहलिएका राजावादीहरुले समर्थन र स्वागत गर्दै सडकमा ओर्लन तयार रहेको बताइसकेका छन् । 

पूर्वराजा ज्ञानेन्द्रको भाषणले यसरी जोसिएका राजावादीहरु राजसंस्था पुनर्स्थापनाको विधि के भन्नेबारे चैं आफैँभित्र एकमत नरहेको देखिन्छ । भाइरल सांसद भनेर चिनिने राप्रपाका प्रवक्ता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले पूर्वराजाको वक्तव्यलगत्तै राजतन्त्र र गणतन्त्रको छिनोफानो जनमत संग्रहमार्फत गर्नुपर्ने मत राखेका थिए । त्यसप्रति अरु स्वतन्त्र राजावादीहरुले असन्तुष्टि जनाएका हुन् । 

राप्रपा, राप्रपा नेपाललगायत कुनै पनि दलमा आवद्ध नरहेका तर राजसंस्थाको पक्षमा वकालत गर्दै आएकाहरु जनमत संग्रहको मागप्रति आक्रोशित छन् । फेसबुकमा आफ्नो नामै 'राजावादी' राखेका एकजनाले रास्ट्रपति र राजसंस्थाबीच जनमत सङ्ग्रहको माग राखेर ज्ञानबहादुरले दुबैतिर खुट्टा राखेको भन्दै चर्को आपत्ति जनाए । 

राप्रपालाई यसबारे आधिकारिक धारणा प्रष्ट पार्न उनले आग्रहसमेत गरेका छन् । सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन, नेता धवलशमशेर राणा र राजेन्द्र गुरुङलाई 'मेन्सन'; गर्दै उनले लेखेका छन्-छोराछोरीहरुले घरमा बाउ राख्ने कि नराख्ने भनेर चुनाव गर्ने रे लाजको पसारो !

टिप्पणीहरू