शक्तिशाली छोरा युवतीको चक्करले यस्तरी सिद्धिए

एक साँझ मिनु बिम्बेट आफ्नो ज्वेलरीको बुटिक पसलमा बसिरहेकी थिइन् । हिरा पनि बेच्थिन् । सेतो कुर्ता पाइजामा लगाएका एक युवक आइपुगेको उनलाई होशै भएन, किनभने उनी निहुरिएर काम गर्दै थिइन् । उनले शीर उठाइन् र चश्मा लगाएको, शीरमा थोरै मात्र कपाल बाँकी बचेको, दुब्लो र अग्लो व्यक्तिलाई देखिन् । भनिन्, ‘हजुर भन्नुस् ।’
युवकले भने, ‘म सञ्जय । प्रधानमन्त्री इन्दिरा गान्धीको छोरा । मलाई घरको लागि केही हिरा चाहिएको छ ।’ कुनै व्यापारीको पसलमा अकस्मात् प्रधानमन्त्रीको छोरा सामान किन्न आउँछ भने कति उत्साह जाग्ला, अनुमान मात्रै गर्न सकिन्छ । त्यो पनि त्यस्ता प्रधानमन्त्री जसले ‘मै हुँ’ भन्ने घागडान राजनीतिज्ञहरूलाई समेत घुँडा टेकाइसकेकी छन् । त्यसबेलासम्म इन्दिरा गान्धीको फलामे व्यक्तित्वदेखि सबै कायल भइसकेका थिए, जसले पाकिस्तानलाई टुक्रा पारेर भर्खरै नयाँ मुलुक बंगलादेश बनाइदिएकी थिइन् । त्यति मात्र होइन, सञ्जयलाई जबर्जस्ती राजनीतिमा धकेलेर उत्तराधिकारी बनाउन उद्यत भइरहेको खबरले राजनीति तातिसकेको थियो । सत्तारुढ पार्टीकै वरिष्ठ नेताहरू र विपक्षी प्रायः सबै नेतागण इन्दिराको यो कदमको विरोधमा उत्रिसकेका थिए । प्रधानमन्त्री आमाको पुल्पुल्याइले शक्तिशाली र जनतामा ‘आतंक’ पैदा गरिसकेका त्यस्ता व्यक्तित्व आफ्नो सामुन्ने देखा पर्दा पनि मिनु बिचलित भइनन्, न त नर्भस नै भइन् । मिनु अत्यन्त आत्मविश्वासी महिला थिइन् । सामान्य ग्राहकसरह व्यवहार गरिन् र सञ्जयले मनपराएको हिरा दिइन् ।
उता, सामान किनेर घर पुगिसकेका सञ्जयले भने मिनुलाई चाहेर पनि बिर्सन सकेनन् । मिनुको रूप, हाकाहाकी कुरो गर्ने शैली, निडरपन र असामान्य व्यवहार झलझली सम्झिरहे । मन र रुझान मिनुप्रति गहिरिंदै गयो । खोला उल्टो दिशातर्फ बग्न थाल्यो, मिनु सञ्जयलाई भेट्न होइन सञ्जय मिनुलाई दोश्रो पटक भेट्न आतुर भए । केही दिनपछि सञ्जय त्यहीँ पुगे । दोश्रो भेटमा दुवैजना खुले । यसपटक भने मिनुले सञ्जयको राजनीतिक गतिविधिको मुक्त कण्ठले प्रशंसा गरिन् । सञ्जयले पनि आफ्नो राजनीतिक अभियानलाई तीव्र रूपमा अघि बढाउन आवश्यक गुण मिनुमा भएको महसुस गरे र भेट्घाटलाई बाक्लो पारे । मिनुलाई आइसक्रिम खुब मन पथ्र्यो, बेलाबखत सञ्जय आइसक्रिम ख्वाउन लैजान्थे । मिनुले आमाको अंश खान आफ्नो नाम बदलेर रुख्साना सुल्तान राखेकी थिइन् । आमा जरिना हक मुसलमान थिइन् भने बुबा मदन बिम्बेट पञ्जाबी । सञ्जयसँग भेट हुँदा उनी रुख्साना बनिसकेकी थिइन् ।
सञ्जयले आफूले पाएको नशबन्दी अभियानको जिम्मेवारीमा रुख्सानालाई पनि सरिक गराए । रुख्साना मुस्लिम भएकोले दिल्लीको मुस्लिम बस्तीमा गएर पुरुषहरूलाई जबर्जस्ती समाती अपरेशन गर्ने जिम्मा सञ्जयले दिए । उनको नेतृत्वमा गएको स्वास्थ्यकर्मी र प्रहरीको संयुक्त टोलीले १३ हजार पुरुषलाई जबर्जस्ती नशबन्दी गर्यो । यो कार्यक्रम सन् सन् १९७५ को जुन २५ देखि १९७७ को मार्चसम्म चलाइएको थियो । करिब २ वर्षको अवधिमा ६० लाख होइन १ करोड १० लाखलाई जबर्जस्ती परिवार नियोजन गराइएको लेखक मरिक भिक्जिआनीले आफ्नो पुस्तक Coercion In A Soft StateM The Family Planning Program of India States. मा उल्लेख गरेका छन् । उनका अनुसार १० लाख महिलाको पाठेघरमा इन्ट्रा–युटेरिन डिभाइस राख्न लगाइएको थियो ।
रुख्सानाले दिल्लीको मुस्लिम बस्तीमा ‘रुख्साना एक भयंकर आइमाई’ को छाप छोडेकी थिइन् । उनको नेतृत्वमा नशबन्दी गराउन गएको टोलीले १८ वर्षका अविवाहित केटोलाई समेत छाड्दैनथ्यो । उनले दशौं हजार छाप्रोमा डोजर चलाउन लगाएर एकरातमै लाखौं गरिबलाई आश्रयविहीन बनाइदिए । यो काममा तत्कालीन मजिष्ट्रेट लतिफ फातिमालाई पनि हात लिएकी थिइन् । फातिमा लोकप्रिय अभिनेता शाहरूख खानकी आमा हुन् । उनी रुख्सानाकी मिल्ने साथी हुन् भने प्रधानमन्त्री इन्दिरासँग पनि राम्रो सम्बन्ध थियो । इन्दिरापुत्र सञ्जयले रुख्सानालाई यति धेरै अधिकारसम्पन्न बनाए कि हुँदाहुँदा रुख्साना राज्यको शक्तिशाली महिला बन्न पुगिन् । उनी कसैसँग डराउँदिनथिन्, बरु उनीदेखि सबैले डराउनुपर्ने स्थिति बन्यो । उनी हाकाहाकी ‘म सञ्जय गान्धीबाहेक कसैको आदेश मान्दिनँ, उनीजस्तो सबल नेता यो मुलुकले आजसम्म पाएको थिएन’ भन्थिन् । नतिजास्वरुप कतिपय सवालमा प्रधानमन्त्री इन्दिराको आदेशलाई पनि नकार्ने दुस्साहस गरिन् । सञ्जय सधैँ रुख्सानाको बचाउमा आमासामु उभिन पुग्थे । पत्रपत्रिकाले अनधिकृत रूपमा शक्तिशाली बन्न पुगेकी रुख्सानालाई सञ्जयकी ‘आइसक्रिम गर्ल’ को रूपमा चित्रित गर्र्थे ।
रुख्सानाको नाम लिनेबित्तिकै नागरिकले सञ्जय गान्धीको विश्वासपात्र ‘सेक्सी मित्र’ को रूपमा लिन्थे । पूरै पेट देखिने गरी सिफोनको सारी, आधा स्तन देखिने गरी ब्लाउज भिर्ने उनी ठूलो गगल्स लगाउँथिन् । उक्त चश्मा उनको परिचयजस्तै बन्न पुगेको थियो । यस्तै चश्मा लगाएकै कारण एकपटक वरिष्ठ पत्रकार तवलिन सिंहले कुटाइसमेत खानुपर्यो । रुख्सानाकै जस्तो गगल्स लगाएर बजारमा हिँडिरहेको देखेपछि स्थानीयले झुक्किएर तवलिनमाथि सांघातिक हमला गरेका थिए । यो घटनाबाट पनि थाहा हुन्छ कि जनता उनलाई कति धेरै घृणा गर्थे । सर्वसाधारण मात्र होइन, स्वयं प्रधानमन्त्री इन्दिरा गान्धी र सञ्जयकी पत्नी मेनका गान्धी पनि उनलाई मनपराउँदैनथे । तर उनीहरूको केही लाग्दैनथ्यो । एकपटक युथ कंग्रेसको अध्यक्ष अम्बिका सोनी रुख्सानाको विरोध गर्न जाँदा सञ्जयले हपार्दै भने, ‘रुख्सानालाई युथ कंग्रेस चाहिएको छैन, युथ कंग्रेसलाई रुख्साना चाहिएको हो । उनको विरोध गर्दै हिँड्ने भए पद छाडेर गए हुन्छ ।’ कालान्तरमा सञ्जयको राजनीतिक क्यारियर रुख्सानाकै कारण धराशायी बन्न पुग्यो । उनलाई सबैले मन पराउन छाडे । तर, संकटकालमा सञ्जय कति शक्तिशाली थिए भन्ने उदाहरणस्वरुप पत्रकारितामा नोबल पुरस्कार मानिने पुलिट्जर पुरस्कार बिजेता वासिङ्टन पोष्टका पत्रकार लेविस सिमोनले एउटा घटना उल्लेख गरेका थिए । उनका अनुसार एउटा रात्रीभोजमा सबैको सामु सञ्जयले रिसाउँदै आमाको गालामा ६ पटक हानेका थिए । यद्यपि, यो घटना इन्दिरालाई बदनाम गर्न मात्र लेखिएको थियो भन्नेहरूको पनि कमी छैन ।
सन् २००७ मा प्रदर्शित र सञ्जयलीला भन्साली निर्देशित हिन्दी चलचित्र ‘साँवरिया’ मा नायिका सोनम कपुरको बज्यै बनेकी बेगम पारा सन् १९४० र ५० को दशकको सुन्दरी अभिनेत्री थिइन् । करिब २ दर्जन चलचित्रमा खेलेकी उनले धेरै पछि साँवरियामा फेरि अभिनय गरेकी हुन् । अभिनय सम्राट दिलिपकुमारको भाइ नासिर खाँकी पत्नी थिइन् । रुख्साना उनैकी भदैनी हुन् । उनी सानीमा जस्तै चलचित्रमा प्रवेश गरी नाम र दाम कमाउन मात्र होइन अभिनेतासँगै बिहे गरेर रंगीन जीवन जिउन चाहन्थिन् । बेगम पाराकै कारण चलचित्रकर्मीहरूसित बाक्लो उठबस पनि थियो । पढाइ सकेलगत्तै चलचित्रमा प्रवेश गर्ने सपना थियो । तर, भाग्यले मोडलिङतर्फ डोहोर्यायो । मोडलिङमा लाग्दालाग्दै सैन्य अधिकृत सविन्दर सिंहसित प्रेम भयो । सविन्दर भारतीय चलचित्र पत्रकार खुशवन्त सिंहका आफ्नै भतिज हुन् । रुख्साना मुस्लिम र सविन्दर पञ्जाबी, तैपनि उनीहरूबीच धर्म पर्खाल बनेन । दुबैले बिहे गरे । र, १ वर्षपछि सन् १९५८ मा छोरी अमृताको जन्म भयो । यसपछि भने दुवैबीच कलह शुरु भयो र अलग्गिए । एहसान उल हक भारत स्वतन्त्र हुनुअघिको बिकानेर राज्य अदालतका प्रधानन्यायाधीश थिए । उनी रुख्सानाकी आमा जरिनाका बुबा हुन् । उनको दिल्लीमा दशौं हजार बिघा जमिन थियो । उनले छोरी जरिनालाई आजभोलि व्यापारिक केन्द्र कनाटप्लेस रहेको जमिन दिए । लोग्नेसित अलग्गिएपछि रुख्सानाले त्यहीँ ज्वेलरीको बुटिक खोलेकी थिइन् ।
टिप्पणीहरू