बेलुन विस्फोटमा घाइते पोखराका मेयर अस्पतालबाट डिस्चार्ज

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् । बेलुन पड्केर घाइते भई कीर्तिपुर बर्न अस्पतालमा भर्ना भएका उनको आज डिस्चार्ज गरिएको हो ।
‘पोखरा भ्रमण वर्ष २०२५’ को औपचारिक घोषणा समारोहमा बेलुन पड्किएर गम्भीर घाइते भएका उनको सो अस्पतालमा उपचार भैरहेको थियो । विस्फोटपछि आगोको लप्काले मेयर आचार्यको अनुहार जख्मी भएको थियो ।
डिस्चार्ज भएपछि विज्ञप्ति जारी गर्दै उनले आफ्नो स्वास्थ्यप्रति चिन्ता र चासो व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । त्यसैगरी, उपचारमा संलग्न चिकित्सक, नर्शसहित स्वास्थ्यकर्मीको टोलीलाई धन्यवाद दिएका छन् ।
‘मेरो स्वास्थ्यप्रति चिन्ता र चासो व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्नुहुने सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, सम्माननीय प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, माननीय मन्त्रीज्यू, विभिन्न ओहोदामा रहनुभएका विशिष्ट व्यक्तित्वहरु, राजनीतिक दलका नेताहरु, पोखरालगायत स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण शुभचिन्तक र सञ्चारकर्मी साथीहरु सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु’,विज्ञप्तिमा उल्लेख छ ।
बेलुन विस्फोटमा उनीसँगै घाइते भएका अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालले गत फागुन ५ गते डिस्चार्ज गरेको हो । यता, प्रहरीले बेलुनमा हावा भर्नेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
टिप्पणीहरू