माधव नेपालको आक्रोश: संविधान मिच्ने बानी परेकाहरु अर्को कुचेष्टा गर्दैछन्

माधव नेपालको आक्रोश: संविधान मिच्ने बानी परेकाहरु अर्को कुचेष्टा गर्दैछन्
सुन्नुहोस्

पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले काँग्रेस–एमाले नेतृत्वको महागठबन्धन सरकार मुलुकमा दुई दलीय व्यवस्था थोपर्ने दाउमा रहेको टिप्पणी गर्नुभएको छ । 

बहुदलीय लोकतन्त्र माँसेर तानाशाही व्यवस्था लागू गर्ने प्रपन्च भैरहेको उहाँले दावी गर्नुभएको हो । आजदेखि शुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भन्नुभयो, 'देशमा अहिले जुन सरकारले शासन गरिरहेको छ त्यो बहुदलीय लोकतन्त्रको मान्यतालाई चुनौति दिँदै दुईदलीय शासन व्यवस्था अघि बढाउन खोजिरहेको छ । दुई दलीयको नाममा एकदलीय तानाशाही लाद्ने सोचभन्दा त्यो भिन्न कुरा छैन ।'  

प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै उहाँले संविधान मिच्न बानी परेकाहरु तानाशाही व्यवस्था लागू गर्ने कुचेष्टामा रहेको बताउनुभयो । सरकारले संसदीय मूल्य, मान्यता, नियम र नियमावलीसमेत मिच्ने काम गरिरहेको अध्यक्षको आरोप छ । 

'साना दलहरुलाई समाप्त पार्ने, प्रतिष्पर्धी दलहरुलाई समाप्त पार्ने र अनेक किसिमका नियन्त्रणका तौर-तरिका अपनाएर सिंगो देशमा तानाशाही लागू गर्ने कुचेष्टा गरिरहेको छ', अध्यक्ष नेपाल दावाका साथ भन्नुहुन्छ, 'संविधानलाई मिच्ने बानि परिसकेका व्यक्तिहरु कानून मिच्न पनि त्यत्ति नै अग्रसर भएका छन् । संसदको नियम र नियमावलीलाई मिच्नेदेखि लिएर विधि विधानलाई बेवास्ता गर्ने काम गरिरहको छन् ।' 

सरकार आलोचकको घाँटी निमोठ्ने गरी प्रस्तुत भइरहेको जनाउँदै उहाँले आक्रोश व्यक्त गर्नुभयो । देशभित्र छुवाछुत र महिला बलात्कारका घटनाहरु बढिरहेको भएपनि अपराधीहरु दण्डित नभएकोमा आपत्ति जनाउनुभयो । 

समाजमा विद्यमान समसस्या समाधान गर्न पार्टी संगठनलाई थप बलियो बनाउँदै लैजानुपर्नेमा उहाँको विशेष जोड छ । पार्टीबारे कुप्रचार गरिएकोमा चित्त दुखाउँदै त्यस्तो भ्रममा नपर्न अध्यक्ष नेपालले नेता-कार्यकर्तालाई आग्रह पनि गर्नुभयो ।

टिप्पणीहरू