लुम्बिनीमा यसरी समातिए १ हजार फरार अपराधी

लागु औषध मुद्धामा २ बर्षदेखि फरार २ अभियुक्तले कपिलवस्तु प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन् । माघ दोश्रो साता कैद भुक्तानका लागि कारागार चलान भएका उनीहरु जस्ता १३ जना फरार अपराधी दुई महिनाभित्र प्रहरीसमक्ष स्वयं उपस्थित भएको बुझिएको छ । डिएसपी मोहनमणि अधिकारीका अनुसार पुस र माघमा मात्र कपिलवस्तुबाट ८९ जना फरार अपराधीलाई पक्राउ गरी कैद भुक्तानका लागि जेल पठाइएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयको कडा निर्देशनलगत्तै कपिलवस्तु लगायत प्रदेशका १२ वटै जिल्लामा फरार अपराधी धरपकड अभियान नै सन्चालन भएको थियो । पुस पहिलो साता प्रदेशको कमाण्ड सम्हाल्न आएका डिआइजी दानबहादुर कार्कीको पहिलो तथा मुख्य निर्देशन नै फरार अपराधी पक्राउ गर्नु भएको प्रहरी अधिकारीहरु बताउँछन् । विभिन्न घटना घटाई खुलेआम समाजमै मिसिएर बसेका १२ सय अपराधीबाट नै शान्ति सुरक्षामा खतरा रहेको भन्दै कार्कीले फरार अपराधी पक्राउ अभियान चलाएका थिए ।
लगत्तै प्रदेशको १२ वटै जिल्लाका प्रहरीहरु फरार अपराधी समात्ने प्रतिस्पर्धामा छन् । पुस र माघ महिना मात्रै १२ वटै जिल्लामा विभिन्न घटनासंग जोडिएर फरार रहेका १ हजार ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुनमा समेत यो अभियानलाई निकै तीब्रता दिएको पाइन्छ । “अपराधीको मनोबल बढेको थियो । त्यसैले कानूनी शासन कायम गर्न आवश्यक थियो,सबैको सहयोगले नियन्त्रणमा आउँदैछ” उनले भने ।
प्रदेश प्रहरी कार्यालय दाङका अनुसार पुस महिनामा ४६९ जना फरार अपराधी पक्राउ गरिएको थियो भने माघमा ५६३ जना समातिएका छन् । सबैभन्दा बढी बाँके,रुपन्देही र दाङ बाट फरार अपराधीहरु नियन्त्रणमा लिइएको छ । सबैभन्दा बढी बैंकिङ कसुर, ठगी,बलात्कार,हत्या,लागु औषध कारोबारी,कुटपिट तथा वनसम्बन्धी फरार अभियुक्तहरु रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले अझै फरार सूचीमा रहेका २८४ जनाको खोजीलाई तीब्रता दिएको छ । विभिन्न अपराधमा संलग्न तथा गम्भीर घटना घटाएका व्यक्तिहरु खुलेआम समाजमै घुम्दा सुरक्षा चुनौती बढ्ने र त्यसले अर्को अपराध जन्माउन सक्ने भएकाले उनीहरुलाई पक्राउ गर्नु आफूहरुको मुख्य प्राथमिकता रहेको डिआइजी कार्की बताउँछन् ।
टिप्पणीहरू