भारत जाँदै गरेका तीन जनाको कम्मरमा १५ किलो चरेश

भारत लैजान लागिएको करिब १५ किलो चरेश कपिलवस्तुमा बरामद भएको छ । भारततर्फ चरेश लैजान खोजिएको विशेष जानकारी प्राप्त भएपछि सक्रिय बनेको नेपाल प्रहरीले सीमा क्षेत्रबाटै चरेश र तस्करीमा संलग्नलाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको विशेष टोलीले नेपाल–भारत सीमा क्षेत्रको दशगजाबाट चरेशसहित हिजो तीन जनालाई नियन्त्रणमा लिएको हो । रोल्पाको थवाङ गाउँपालिका–५ कि प्रेमसरी रोका, रुकुमु पूर्वको भुमे गाउँपालिका–२ की सरिता पुनमगर र कपिलवस्तुको शिवराज नगरपालिका ९, बनियाभार बस्ने सुकलाल घर्तीमगरको साथबाट १४ किलो ७०० ग्राम चरेश बरामद भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खत्रीका अनुसार विशेष सुराकीको आधारमा खटाइएको टोलीले चरेश बरामद गरेको हो । ‘कम्मरमा सेतो कपडा बाँधेर भारततर्फ जाँदै गरेका तीन जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा चरेश भेटिएको थियो,’ उनले भने । पक्राउ परेकामध्ये प्रेमसरीबाट ६ किलो, सरिताबाट साढे ५ किलो र सुकलाल घर्तिको कम्मरबाट ३ किलो २ सयग्राम चरेश फेला परेको हो ।
प्रेमसरी रोकाले उक्त चरेश सात लाख रुपैयाँमा किनेर ल्याइएको बयान दिएकी छन् । पक्राउमध्ये एक जना कारोबारी र दुई जना भरिया रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । कपिलवस्तु जिल्ला प्रहरी कार्यादलयका प्रमुख प्रहरी उपरीक्षक निरन्जनदत्त भट्टले भने, ‘यसअघि भरिया मात्र पक्राउ पर्थे । अहिले कारोबारी पक्राउ पर्दा केही नयाँ तथ्य खुल्न सक्छ ।’
उनका अनुसार सीमा क्षेत्रमा लागूऔषध नियन्त्रणका लागि कपिलवस्तु प्रहरीले विगत तीन महिनादेखि विशेष अभियान सञ्चालन गरिरहेको छ ।
टिप्पणीहरू