हिजो प्रधानमन्त्रीको, आज स्वास्थ्यमन्त्रीको राजीनामा माग

सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको राजीनामा मागेको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै रास्वपा सांसद तोसिमा कार्कीले मन्त्री पौडेललाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेकी हुन् ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले केही दिनअघि बीमाको भुक्तानी नपाएको कारण देखाउँदै स्वास्थ्य बीमा सेवा रोकेपछि मन्त्री पौडेलले ‘बीमा बोर्डमा बजेट नभएको र भुक्तानी दिन नसकिने’ बताउनुभएको थियो । सोही प्रसंग औँल्याउँदै सांसद कार्कीले मन्त्री पौडेलको अभिव्यक्तिलाई ‘लाचार’ को संज्ञा दिएकी छन् । 

‘स्वास्थ्य बीमाको रकम रकम पाँच लाख पुर्याउँछु भन्दै महत्वाकांक्षी सपना बाँड्नु हुने स्वास्थ्यमन्त्रीज्यूबाट नै अहिले उक्त दायित्व बहन गर्न सकिँदैन भनेर दिएको लाचार अभिव्यक्ति सुनेर दुःख लाग्यो’, उनले भनिन्, ‘स्वास्थ्य बीमाको सुरुवात हामीले गर्यौं भन्दै जस लिन खोज्ने, तर वार्षिक २६ देखि २८ प्रतिशतमात्र भुक्तानी गरी वर्षौंसम्म अलपत्र पारेर राज्यलाई धराशायी बनाउने काम भएको छ ।’

सांसद कार्कीले तीन करोड नेपाली नागरिकको अनिवार्य स्वास्थ्य बीमा गर्न सरकारको ध्यानकार्षणसमेत गराइन् । ‘मन्त्रीज्यूको सल्लाहकार फेर्नुपर्यो, छैनन् भने हामीलाई भन्नुस्, हामी सल्लाह दिन तयार छौँ, नत्र आफैं मार्गप्रशस्त गर्नुहोला’, उनले थपिन । 

यसअघि हिजोको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको थियो । सम्पत्ति शुद्धीकरण र आतकंवादी गतिविधिको निगरानी राख्ने एफएटीएफले नेपाललाई ‘ग्रे लिस्ट’ मा राखेको प्रसंग कोट्याउँदै सांसद माधव सापकोटाले भनेका थिए, ‘सरकारको अकर्मण्यता, वित्तीय क्षेत्र सुधार गर्ने अठोटको अभाव र सुशासनप्रतिको उपेक्षाले आज नेपाल लज्जास्पद अवस्थामा पुग्यो, सरकारले नैतिक रुपमा आफैँ मार्ग प्रशस्त गर्नुपर्छ ।’

टिप्पणीहरू