अमेरिकाबाट को–को नेपाली निकालिए ?

अमेरिकाबाट को–को नेपाली निकालिए ?

जन्मभूमिमै राम्रो अवसर हुँदो हो त दशथरी हण्डर, ठक्कर खाँदै विदेशिन कसले रहर गथ्र्यो होला तर देशमा गरी खाने उपयुक्त वातावरण नहुँदा मुग्लान भास्सिएका नेपालीले त्यहाँ पनि सुख पाएनन् । तिनका हकमा ‘दुःखीको घरमा मात्रै तेरो बास हुने भए हे ईश्वर, दया राखी मलाई अझ दुःख दे’ भनेझैं भैदियो । यसरी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशअनुसार अवैध आप्रवासीलाई देशनिकाला गर्ने घानमा नेपाली पनि पर्न थालेका छन् । 

यसबीच अमेरिकाबाट डिपोर्र्ट हुनेमा राहदानी नम्बर पीए ०२२१२६८ की शान्ता कार्की, ११६०४०६२ नम्बरका अर्जुन सेजवाल र पिए २७१९५४९ नम्बरवाहक शुक्रबहादुर खत्री छन् । उनीहरूलाई अमेरिकी अध्यागमन कानुन उल्लंघन गरेको भन्दै नेपाल फिर्ता पठाइएको हो । यी तीनै जना फागुन ५ गते सोमबार एयर इण्डियाको एआई २१५ दिल्ली–काठमाडौं उडानबाट दिउँसो ४ बजे नेपाल आइपुगेका थिए । खत्री, कार्की र सेजवालको स्थायी ठेगाना दाङ छ । कार्की र सेजवाल अमेरिकी अध्यागमन कानुनअनुसार फर्काइएका हुन् भने खत्री भिसा वेभर पाइलट प्रोग्राम उल्लंघन गरेको थप कारणसहित समातिएका थिए । 

यसअघि मेक्सिको, ब्राजिल, ग्वाटेमालालगायत अन्य मुलुकका अवैध आप्रवासीलाई नेल, हत्कडी लगाएर सैनिक जहाजमा फर्काउने गरिएकोमा नेपालीहरुलाई भने आफैं टिकट काट्न लगाएर व्यावसायिक उडानबाट पठाएको पाइएको छ ।

त्यसैगरी, विदेशबाट डिपोर्र्ट भई आउने नेपालीको सूचीमा साउदी अरेबियामा रहेका गजेन्द्र चौधरी पनि छन् । १७८५४९८ नम्बरको राहदानीवाहक उनलाई कालोसूचीमा परेको कारण नेपाल फिर्ता पठाइएको हो । उनलाई एयर अरेबियाको जी ९५३६ नम्बर उडानमा शारजाहबाट फागुन ४ गते फर्काइएको छ । यसअघि माघ २६ गते सलिना खड्का, भूपेन्द्रबहादुर खत्री, राजेन्द्रकुमार चौधरी र सन्तोष भट्टराईलाई अमेरिकाले नेपाल फर्काएको थियो ।
 

टिप्पणीहरू