दरबारिया षड्यन्त्रको एक डंगुर

दरबारिया षड्यन्त्रको एक डंगुर

लिबिया ड्रुसिला प्रथम रोमन सम्राट् सिजर अगुस्टसकी रानी हुन् । अत्यन्त क्रूर अनि महत्वाकांक्षी थिइन् । रोम गणतन्त्रका सांसद मार्कुस लिबियो ड्रुसो क्लाउडियानो र उनकी पत्नी अल्फिडियाका दोस्रो सन्तान हुन् । मार्कुसका पुर्खाको इतिहास रोमको भन्दा पनि पुरानो छ । लिबियाको सुन्दरता र बुद्धिको बयान गरिसाध्य छैन । महिला भएर पनि उनी पुरुषभन्दा धेरै गुणा बहादुर थिइन् । तर, किन हो किन षड्यन्त्र र बुद्धि प्रयोग होइन, शरीरमार्फत लक्ष्य प्राप्त गर्न रुचाउँथिन् । 

इशापूर्व ५९ मा जन्मिएकी । पिता मार्कुसले १६ वर्षको कलिलो उमेरमै टाइबेरियस क्लाउडियस निरोसित गराइदिए । टाइबेरियस निरो ती निरो होइनन् जसले रोम शहर दनदनी जलिरहँदा बरण्डामा बसेर बाँसुरी बजाएका थिए । बाँसुरी बजाउन सम्राट् निरो टाइबेरियसभन्दा करिब सय वर्षपछिका हुन् । टाइबेरियस मार्कुसजस्तै राजनीतिज्ञ अनि सांसद पनि थिए । लिबिया र टाइबेरियसको उमेरमा २३ वर्षको भिन्नता थियो भने दुबै एउटै कूलका थिए । लिबियासित बिहे गर्नुअघि नै उनको विवाह टुलियासित भइसकेको थियो । यसैबीच, रोममा ३ जना मार्क एन्टोनी, लेपिडियस र सिजर अगस्टस (ओक्टाभियन) बीच शक्ति संघर्ष चलेर स्थिति भयावह बन्यो ।

अगस्टसले टाइबेरियसलाई जबर्जस्ती आफ्नो पक्षमा लाग्न दबाब दिए तर उनी भने एन्टोनीलाई रुचाउँथे, त्यसैले कतैतिर नलागी लिबियासँगै रोमबाट भागे । पछि अगस्टस र एन्टोनी मिलेपछि मात्र फर्के । त्यसबेला लिबिया छोरो टाइबेरियस जुनियरको आमा बनिसकेकी थिइन् । जब अगस्टसले पहिलोपटक लिबियालाई देखे, विवाहिता भन्ने थाहा पाउँदापाउँदै प्रेम गर्न थाले । त्यसो त अगस्टस पनि विवाहित नै थिए । उनी र पत्नी स्क्रिबोनियाको छोरी पनि भइसकेको थियो – जुलिया ।

लिबियालाई मन पराइसकेपछि उनले स्क्रिबोनियासित सम्बन्धविच्छेद गरे साथै टाइबेरियसलाई पनि लिबियालाई छाड्न दबाब दिए । त्यसबखत लिबिया दोजिया थिइन् । तर, टाइबेरियसले लिबियालाई छाड्न मानेनन् । लिबियाले दोस्रो सन्तानको रूपमा फेरि छोरो जन्माइन् । यसको बावजुद अगस्टसले टाइबेरियसमाथि दबाब दिन छाडेनन् । उनले लिबियाले पनि आफूलाई मन पराउन थालेको र आफ्नो बिहे हुन नदिएमा लिबिया विधवा बन्ने धम्की दिए । यसबाट टाइबेरियस डराएर पत्नीसित सम्बन्धविच्छेद गरे । लगत्तै अगस्टस र लिबियाको बिहे धुमधामसित सम्पन्न भयो ।

समारोहमा टाइबेरियसले पनि उपस्थित थिए । लिबियाले बिहेमा छोराहरूलाई सरिक नगराउनु भनेकी थिइन् । टाइबेरियसले यो आग्रह मानेको मात्र नभएर छोराहरू हुर्काउने जिम्मा पनि उठाए । टाइबेरियस निरोको मृत्यु बिहेको १० वर्षपछि भयो । उनी बितेपछि छोराहरू आफ्नै आमा र सौतेनी बुबाकोमा शरण लिन पुगे । बिहेको ३ महिनापछि लिबियाले अर्को सन्तान जन्माइन् । अगस्टसले टाइबेरियसलाई चिढ्याउन नवजात शिशुलाई उनको घरमा पठाइदिए । उनले लेखेको सन्देशमा थियो – ‘तिमीलाई लाग्दो होला कति राम्रो बच्चा पाइछन् लिबियाले । यो पनि तिम्रो विर्यकै कमाल हो कि ! । तर केही छैन, मनलाग्छ भने तिमीले नै यसलाई पाल्न सक्छौ ।’

अगस्टस रोम साम्राज्यको प्रथम सम्राट् बनिसकेका थिए । रोम गणतन्त्रलाई अधिराज्य बनाउनमा सेनापति पोम्पे दि महानको ठूलो योगदान छ । तर उनै पोम्पेका पुत्र सेक्सटस पोम्पे जो आफै सेनापति बनिसकेका थिए, कालान्तरमा उनले अगस्टसलाई चुनौती दिए । अगस्टस पोम्पेसंग लड्न इटलीतिर रवाना भएर पहिलो युद्ध जिते । त्यसपछि एन्टोनीलाई पराजित गर्नतर्फ लागे । दुबै युद्धमा जित हासिल गरेर स्वदेश फर्केपछि उपाधि प्रियसी लिबियालाई धेरै उपहार दिए, अनेकौं उपाधिले सम्मानित गरे, अधिकारसम्पन्न तुल्याए ।

लिबियाडा नामका नयाँ नगर नै बसाले । दोबाटो, चौबाटो र मन्दिरहरूको नामसमेत लिबियाकै नाउँमा राख्न लगाए । कवि तथा साहित्यकारलाई लिबियाको तारिफ गर्दै कविता र साहित्य सिर्जना गर्न दबाब दिए । मुद्रामा लिबियाको मूर्ति कुँद्न लगाए । यथार्थमा, अगस्टसको अनुपस्थितिमा उनी दरबारका नोकर, सेनाका हृष्टपुष्ट जवान मात्र होइन राज्यका आकर्षक पुरुषबाट यौन प्यास मेटाउने काममा लीन भइसकेकी थिइन् । पूर्णतः पुरुषलम्पट बनिसकेकी थिइन् । एकपटक सुरक्षाकर्मीले दरबारभित्र केही युवकलाई निर्वस्त्र भेट्टाए । जब उनीहरूलाई मृत्युदण्डको सजायँ सुनाइयो, ती सबैलाई लिबियाले बचाइन् । हाकाहाकी भनिन् – ‘यिनीहरू मूर्तिकलामा देखिने नग्न पुरुष जत्तिकै सुन्दर छन्, यिनीहरूलाई यो अवस्थामा देख्दा मलाई कुनै अप्ठ्यारो लागेको छैन ।’

ठूलो भएपछि लिबियाले कान्छो छोरो ड्राससलाई राजा बनाउन चाहिन् । तर, सम्राट् अगस्टसलाई थाहा थियो, जनता लिबियालाई सम्राट्को रखैल मात्र मान्दछन् त्यसैले ड्राससलाई गद्दी सुम्पन्न तयार भएनन् । सपना पूरा नहुने देखेपछि लिबिया जेठो छोरो टाइबेरियस द्वितीयलाई शक्तिशाली बनाउन अग्रसर भइन् । अचानक सबै प्रेम ती छोरामा न्यौछावर गर्न थालिन् । उता, अगस्टसले आफ्नो फौजमा बहादुरी देखाइसकेका भतिज राजकुमार मर्सिलसलाई उत्तराधिकारी घोषणा गरिदिए । यो घोषणालाई लिएर लिबियाले सार्वजनिक रूपमा त प्रशन्नता जाहेर गरिन् तर सोही राति मार्सिलस सख्त बिरामी भएर बिते । सबैले उनको हत्या लिबियाकै हातबाट भएको शंका गरिन् तर कसैले उनीप्रति औंला उठाउने दुस्साहस् गर्न भने सकेनन् ।

यो घटनालगत्तै ड्राससको मृत्यु पनि अप्राकृतिक रूपमा भयो । उता, अगस्टसले आफ्नी छोरी तथा मार्सिलसकी विधवा जुलियाको बिहे अगृप्पा नामक युवकसित गरिदिने र उनी नै उत्तराधिकारी बन्ने संकेत दिए । यसबीच लिबिया अगस्टको तर्फबाट २ छोरा गाइअस र लुसिअसकी आमा बनिसकेकी थिइन् । अगस्टसको नयाँ घोषणाबाट तिल्मिलाइन् तर रिस देखाइनन् । उनले यस्तो चलाखीपूर्ण पाइला चालिन् कि अगस्टस उनैको इशारामा नाच्न थाले । छोराहरूको पक्षमा षड्यन्त्र रच्दै थिइन्, अचानक दुबै छोरा गाइअस र लुसिअसको युद्धमैदानमा मृत्यु भएको खबर सुनेपछि लिबिया र अगस्टस दुबै अर्धविक्षिप्त बन्न पुगे । लगत्तै अगस्टसले आफ्नो नाति (जुलियाको पुत्र) लाई धर्मपुत्र बनाउने निर्णय लिए । लिबियाले उक्त घोषणाको प्रत्युत्तर दिँदै अगृप्पामाथि राजद्रोहको आरोप लगाएर जुलियालाई समेत देशनिकाला गर्न लगाइन् ।

समय बित्दै गयो, अगस्टसलाई नातिको यादले सताउन थाल्यो । भेट्ने गोप्य योजना बनाए । तर, योजनाको जानकारी लिबियाले पाइन् र सम्राट्को यात्रालाई रोक्न खोजिन् । अगस्टस टसमस भएनन् र प्लानासिया द्विपतर्फ लागे । त्यहाँबाट फर्केलगत्तै लिबियाले प्रश्न गरिन् – सायद् तपाईं मलाई प्रेम गर्नुहुन्न, नत्र प्लानासियालाई किन लानु भएन ? सम्राट् कुनै जवाफ नदिइकन आराम गर्न शयनकक्षतर्फ लागे । लिबिया फलफूलको चाट लिएर पछिपछि लागिन् । अगस्टसले मीठो मान्दै निर्दयी पत्नीलाई हेर्दै सबै खाए । लगत्तै अगस्टसको ज्यान गयो । उनी ७५ वर्षका थिए । लिबियाले केही दिन सम्राट् मरेकोबारे कसैलाई थाहा दिइनन्, किनभने उनका छोरा टाइबेरियस द्वितीय मुलुकबाहिर गएका थिए । फर्कनेबित्तिकै दुःखद खबर र छोराको गद्दीरोहणको घोषणा एकैचोटी गरिदिइन् । त्यति मात्र होइन, भोलिपल्टै सम्राट्ले धर्मपुत्र बनाएका नाति र अगृप्पा दुबैको हत्या गर्न लगाइन् । अगस्टसले आफू मरिसकेपछि उनीहरूलाई सजायँ दिनु भनेको हल्ला पिटाइन् ।

यसपछि टाइबेरियस द्वितीय सम्राट् बने तर गद्दीसिन भएलगत्तै पहिलो काम आमा लिबियाको अधिकार कटौती गरिदिए । लिबिया हार्ने महिला थिइनन् । यस्तो चाल चलिन् कि सम्राट् काप्री नगर गएर बस्न विवश बने । लिबियाले नाति क्यालिगुलालाई पढाएर, तालिम दिएर तयार पारिन् । क्यालिगुलाले टाइबेरियसलाई धेरै दिन बाँच्न दिएनन् र आफैँ सम्राट् बने । आफ्नै बहिनीहरूसँग शारीरिक सम्बन्ध बनाउनसमेत पछि नपर्ने क्यालिगुलासम्बन्धी लेख जनआस्थाको २०७९ वैशाख ६ गतेको अंकमा पढ्न सकिनेछ ।
 

टिप्पणीहरू