‘यौनकर्मी’ले जितिन् ओस्कार अवार्ड

कस्तो चलचित्रले दर्शकलाई आकर्षित गर्छ भन्ने कुरा प्रदर्शनअघि न निर्मातालाई थाहा हुन्छ, न कलाकारलाई । छायांकन र सम्पादनमा महंगो रकम खर्चिएर बनाइएका कतिपय फिल्मले पानी भन्न नपाउँदा कम आँकिएका चलचित्र दर्शकको रोजाइमा परेका प्रशस्तै उदाहरण छन् । यस वर्षको ओस्कार अर्वाडमा त्यस्तै एउटा साधारण कथावस्तुको चलचित्र हावी भएको छ ।
गएराति अमेरिकाको लसएन्जलसस्थित डल्बी थियटरमा सम्पन्न ओस्कारको ९७औँ संस्करणमा हलिउड चलचित्र ‘अनोरा’ले पाँच विधामा अवार्ड जितेको हो । वर्षको सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको ‘अनोरा’बाटै मिकी मेडिसिनले उत्कृष्ट अभिनेत्रीको अर्वाडसमेत हात पारिन् ।
त्यस्तै, उत्कृष्ट निर्देशन, उत्कृष्ट स्क्रीन प्ले र उत्कृष्ट सम्पादनको अवार्ड पनि सोही चलचित्रले जितेको छ ।
सन् २०२४ मे २१ मा रिलिज भएको ‘अनोरा’मा एक यौनकर्मी युवतीको कथा प्रस्तुत गरिएको छ । जो पैसाको लागि शरीर बेच्दै जाँदा एक धनाढ्य युवकसँग भेट हुन्छिन्, र माया बस्छ । त्यसपछि बिबाह गर्ने निर्णयमा पुगेका उनीहरुलाई युवकका परिवारले स्वीकृति दिदैंनन् ।
यहि सेरोफेरोमा बनेको यो फिल्मले यतिबेला अन्तराष्ट्रिय चलचित्र वृत्तमा तरंग पैदा गरेको छ । करिब ८३ करोड लगानीमा निर्माण भएको उक्त चलचित्रले झण्डै ६ अर्ब कमाएको थियो ।
त्यसो त, कमाईको मामलामा ‘अनोरा’ भन्दा अन्य धेरै चलचित्र अगाडि छन् । तर अनोराले नै किन ओस्कार अवार्ड जित्यो होला त ? भन्ने प्रश्नमा निर्देशक सिन बेकर भन्छन्, ‘साधारण कथावस्तुमा असाधारण प्रस्तुतिले सबैको मन जित्यो ।’
स्मरण रहोस्, ओस्कार लागि नेपालबाट भीम भाम निर्देशित ‘शाम्बाला’ सिफारिस गरिएको थियो, तर नोमिनेशनमै पर्न सकेन ।
टिप्पणीहरू