ठेकेदारहरुमाथि चोरीको आरोप, गाडी नियन्त्रणमा

बुटवल–गोरुसिंगे सडक निर्माणको ठेक्का पाएको निर्माण कम्पनीले बाणगंगा नदीबाट नदीजन्य पदार्थ चोरेको आरोप लागेको छ । तीव्र गतिमा काम गरेर प्रशंसा बटुलेको एससिइजीसी–एनएस जेभी निर्माण कम्पनीको सवारी साधन नक्कली भ्याट बिल बनाई नदीजन्य पर्दाथ निकासी गर्ने क्रममा हिजो पक्राउ परेका छन् । बाणगंगा नगरपालिका राजस्व शाखाले नदीबाटै नक्कली बिल बनाई ढुवानी गरिरहेको आयोजनाको लु.२ ख १७०४ नम्बरको ट्रिपर नियन्त्रणमा लिएको छ ।
बुटवल–गोरुसिंगे सडकलाई आवश्यक पर्ने नदीजन्य पदार्थ निकासी गर्न बाणगंगा नगरपालिकाले ती ठेकेदारलाई चालु आ.ब.का लागि भ्याट बाहेक १५ रुपैया रुपैयाँको दरले ६४ हजार घनमिटर पदार्थ संकलनको स्वीकृति दिएको थियो । तर तोकिएको परिमाणभन्दा धेरै नदीजन्य पदार्थ निकालेर बेच्ने उद्देश्यले नक्कली बिल बनाई चोरी गरिएको आशंका छ ।
ठेकेदारले चैत ११ गते उक्त ट्रकलाई ४२० नम्बरको रसिद काटेका थिए भने १२ गते ४१२ नम्बरको रसिद काटेको पाइएको छ । नगरपालिका स्रोतका अनुसार ४१२ नम्बरको उक्त रसिद नक्कली हो । यसबारे पालिकाले आवश्यक अनुसन्धान गरिरहेको जनाउँदै राजस्व प्रमुख मदन घिमिरेले आयोजना ठेकेदारको एउटा ट्रिपर नियन्त्रणमा लिएर अनुसन्धान गरिएको बताए ।
बुटवल–गोरुसिंगे आयोजनाको ठेकेदार प्रतिनिधि बाबुराम अधिकारीकै निर्देशनमा किर्ते भ्याट बिल बनाई नदीजन्य पदार्थ चोरी गरिएको बुझिएको छ । आयोजनालाई आवश्यक पर्ने बेश र सबबेश बनाउन ठेकेदार पक्षले बाणगंगा नदी किनारमै रहेको विवादित लुम्बिनी क्रसर समेत ४ वर्षका लागि लिजमा लिएको छ । सोही क्रसरमा तोकिएको भन्दा बढी नदीजन्य पदार्थ ल्याउने र त्यहाँबाट आयोजना बाहेक अन्य ठेकेदार र बाटोहरुमा समेत निर्माण सामाग्री बिक्री गर्ने योजना बनाइएको पाइएको छ ।
आयोजनाको बुटवलदेखि बुड्ढी चोकसम्मको ४ लेन सडक निर्माणका लागि एक लाख घनमीटर नदीजन्य पदार्थ आवश्यक पर्ने लागत स्टिमेट हुँदाहुँदै पनि ठेकेदार पक्षले तीन लाख घनमीटर नदीजन्य पदार्थ निकासीका लागि बाणगंगा नगरपालिकासँग माग गरेका थिए । तर महत्वपूर्ण आयोजना भन्दै नगरपालिकाले हाल ६४ हजार मात्र उपलब्ध गराउने र पछि आवश्यक परेको अवस्थामा दिने जनाउँदै कार्यपालिकाको निर्णयमा उक्त सामाग्री उपलब्ध गराएको थियो ।
नक्कली भ्याट बिल बनाएका ठेकेदार बाबुराम अधिकारी तथा आयोजनामाथि नक्कली भ्याटबिल प्रयोग गरेको, पालिकाले तोकेर दिएको परिमाणभन्दा बढी चोरी गरेको, पालिकाको सरकारी छाप किर्ते गरेकोलगायतका मुद्दा लाग्नसक्ने बताइएको छ । आयोजनाको नाममा बाणगंगा नदीको चरम दोहन गर्ने गिरोहले यतिखेर ठेकेदारसँग मिलेर ठूलो चलखेल गरेको अनुमान छ । त्यसमा स्थानीय राजनीतिक दल र जनप्रतिनिधिहरुको समेत संलग्नता हुनसक्ने स्थानीयको आशंका छ ।
टिप्पणीहरू