बालेनका हकमा जनता जिन्दावाद

बालेनका हकमा जनता जिन्दावाद

काठमाडौं महानगरपालिका मेयरले होइन, उनको आसेपासेले चलाएका छन् भन्ने विषयमा दुईमत छैन । भ्रष्टाचारको विरोध गर्दै आएका मेयर बालेन्द्र (बालेन) साहको नाकमुनि हाकाहाकी अनियमितता भइरहेको छ तर उनले थाहा नपाएका हुन् कि पाएर पनि अनदेखा गरेका हुन् ? बुझ्न गाह्रो छ । बालेनले लेख्ने स्ट्याटसदेखि गाउने र्‍याप गीतसम्मले भ्रष्टाचारको विपक्षमा सन्देश दिने गर्छ । 

उनको यही रुप देखेर युवापुस्ता ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्दै प्रभावित भएको हो । भ्रष्टाचारविरोधी जनप्रतिनिधिका रुपमा चर्चा कमाएका उनी आफैँ भने भ्रष्टाचारीहरूको घेरामा बसेका छन् । उनका विश्वासिला पात्रहरू आर्थिक अनियमिततामा चुर्लुम्म डुबेका छन् । जनताले तिरेको करमा दर्जनौंले स्वाद मारिरहेको अवस्था छ । सम्पदामा होस् या शिक्षा क्षेत्रमा महानगरको ढुकुटी रित्याउने कार्यले प्राथमिकता पाएको छ । 

काठमाडौंलाई सुन्दर बनाउने नाममा झक्झक्याउने र पैसा मुठ्याउने पात्रहरूलाई बालेनले साथमै बोकेर हिँडेका छन् । त्यो कुरालाई पुष्टि गर्ने थुप्रै आधार छन् । पहिलो नम्बरमा बालेनले टुँडिखेलमा सञ्चालन गरेको सीप मेलालाई नै लिऔं । निकै तामझामका साथ आयोजित उक्त मेलाको चौतर्फी चर्चा भएको थियो । राम्रो काम थाल्दा चर्चा हुनु स्वाभाविकै पनि हो। 

सो सीप मेलाका लागि १० करोड रुपैयाँ बजेट छुट्याइयो । पत्रकार सम्मेलनमार्फत महानगरले त्यसको जानकारी गराएको थियो । तर, पैसा कहाँ–कहाँ, के–कसरी खर्च गरियो ? मेलामा सीप लिएकामध्ये कतिले रोजगारी पाए ? यसको लेखाजोखा छैन । खर्चबारे पत्रकार सम्मेलन गरेर जानकारी गराएको महानगर यस विषयमा भने मौन छ । 

यता, महानगरले सीप मेला गर्दा लागेको खर्च बिना प्रतिस्पर्धा बजेट टुक्रयाएर कोटेशनका आधारमा बाँडेको पाइन्छ । महानगरले किन प्रतिस्पर्धा नगराईकन कोटेशनमार्फत काम गर्यो ? गम्भीर प्रश्न खडा भएको छ । स्रोतका अनुसार त्यसको सम्पूर्ण जिम्मेवारी महानगरपालिकाको सामाजिक विकास विभागको भए पनि शहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले लिएका थिए । 

झा मेयरले नियुक्त गरेका सदस्य हुन् । उनी शिक्षा तथा सम्पदासँग जोडिएको हरेक कुरामा संलग्न छन् । उनलाई महानगरको शिक्षा विज्ञका रुपमा समेत चिनाइएको छ । मेला, तालिमलगायत विद्यालयमा वितरण गरिने ई–सर्भिससम्मको कोटेशन मिलाउने पात्र पनि उनी नै हुन् । शहरी योजना आयोगका सदस्यको नाताले उनी महानगरकै रकममा जापान, कोरिया, थाइल्याण्डलगायतका देश घुम्न पुगिसकेका छन् । 

जुन सरासर कानुनविपरीत छ । आयोगका सदस्यलाई विदेश भ्रमणका लागि सरकारी बजेट खर्च गर्ने प्रावधान कहीँ–कतै उल्लेख छैन । उनले बालेनको काखमा बसेर आर्थिक लाभ उठाइरहेको स्रोत बताउँछ । शैलेन्द्र संलग्न हरेक कार्यक्रममा आर्थिक अनियमितता हुने स्रोतको दावी छ । 

यता, महानगरले हरेक कार्यक्रममा एउटै व्यक्तिसँग कोटेशनमा काम गरिरहेको छ । जसले शंका उब्जाएको छ । करिब ९० वटा सामुदायिक विद्यालयहरूका लागिे डिजिटल बोर्ड उपलब्ध गराउने भनी शिक्षा विभागले पटकपटक टेण्डर आह्वान गरेको थियो । तर, कुनै पनि सप्लायर्सले टेण्डर नहालेपछि झा हरेक विद्यालयबाट २० लाखसम्मको सामान कोटेशनमार्फत खरिद गर्ने निर्णय गर्न सफल भएका हुन् । 

अनियमितताको गोप्य योजनाकारका रुपमा परिचित सुनिल लम्साल र शैलेन्द्रले भनेकै व्यक्तिबाट नै विद्युतीय उपकरण खरिद गर्नुपर्ने बाध्यकारी अवस्था बनाइएको छ । त्यस्ता सामग्री खरिद गर्न मेयरका सल्लाहकारको रुपमा नियुक्त सुदिप ढकाल, बालेनलाई थाहा नै नदिई सुनिलले सूचना प्रविधि विभागमा नियुक्त गर्न लगाएका अर्का इञ्जिनियर माधव खनाललाई स्पेसिफिकेसन बनाउने जिम्मेवारी दिइएको छ । 

सुदीपले बनाएको स्पेसिफिकेसनका आधारमा शैलेन्द्र र सुनीलनिकट सप्लायर्सहरूबाट त्यस्ता डिजिटल बोर्डहरू कोटेशनमा हरेक विद्यालयले खरिद गर्नेछन् । अहिले फेरि एसईईको मुखमा आएर शैलेन्द्रले अर्को फण्डा शुरु गरेका छन् । भर्खरै ‘एकेडेमिक फेस्ट, २०८१’ शुरु भएको छ । जसको लागि शैलेन्द्रको उपस्थितिमा महानगरका प्रवक्ता नवीन मानन्धरले पत्रकार सम्मेलन नै गरेका छन् । 

बालेनको सचिवालयले तयार गरेको प्रेस विज्ञप्तिका आधारमा मेयरका स्वकीय भूपदेव साहलाई साक्षी राखेर सम्मेलन गरिएको हो । बालेन कमिशन र भ्रष्टाचारविरोधीजस्तो देखिए पनि उनले राखेका जम्मै सचिवालय सदस्यमाथि कमिशनको चास्नीमा डुबेको आरोप छ । यता, शैलेन्द्रले भने कोटेशनमार्फत काम गरिएको कुरा झुटो भएको दाबी गरे । उनका अनुसार डिजिटल बोर्ड जडानका लागि खुला प्रतिस्पर्धामार्फत ठेक्कामा लगाइएको हो ।

झण्डै साढे पाँच करोड रुपैयाँको ठेक्का कोटेशनमा दिनै नमिल्ने उनको भनाइ छ । भन्छन्, ‘यो पोहोर छुट्याइएको बजेट हो । साढे पाँच करोडको परियोजनाको काम कसरी कोटेशनमा गर्न सकिन्छ ? पहिलोचोटि ठेक्का आह्वान गर्दा नपरेपछि पुनः दोस्रोपटक गरिएको हो । विधि–प्रक्रियाअनुसार काम भएको छ ।’ 

त्यसैगरी, उनले शिक्षकहरूलाई डिजिटल बोर्डसम्बन्धी ज्ञान दिने तयारी भइरहेको जानकारी दिए । पहिले बालविकास, प्राथमिक कक्षा हुँदै सबै कक्षामा बोर्ड राखिने झाको जिकिर छ । 

टिप्पणीहरू