पूर्व राजाका नाममा सल्बलाउँदै पञ्चहरु, सुर्खेतबाट गृहमन्त्रीको चेतावनी
पोखराबाट काठमाडौं फर्किंदै गरेका पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका नाममा शक्ति प्रदर्शन गर्न लागेका राजावादीहरु क्रमश: सडकमा ओर्लिन थालेका छन् ।
दुबै राप्रपा, राष्ट्रिय शक्ति पार्टीलगायत विभिन्न समूहमा छरिएर रहेका राजतन्त्र समर्थकहरु ज्ञानेन्द्रको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जाँदैछन् । त्यसअघि उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकाल्ने उनीहरुको तयारी छ ।
पूर्व राजा अपराह्न ३ बजे विमानस्थलमा अवतरण हुने कार्यक्रम छ । उनको स्वागतका लागि राजवादीहरु नाराबाजी गर्दै विमानस्थल पुग्ने तयारी गरिरहँदा सुरक्षा निकायले गेटमा कडाइ गरेको छ।
ज्ञानेन्द्रको स्वागतमा करिब ६ हजार राजावादीहरू सहभागी हुनसक्ने सुरक्षा निकायको आँकलन छ । उनीहरुको प्रदर्शन र सम्भावित सुरक्षा खतरालाई मध्यनजर गरी सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको प्रहरीले जनाएको छ।
बिहानैदेखि त्रिभुवन विमानस्थलसहित नारायणहिटी दरबार संग्रहालय, सिंहदरबार वरपर, संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकहरुमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । भिडभाड र जुलुस अनियन्त्रित हुनसक्ने विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति बनाइएको प्रहरीले जनाएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको बैठकसमेत बसेको थियो। भिड अनियन्त्रित भई हुलहुज्जत, अमर्यादित, अवाञ्छित र गैरकानुनी क्रियाकलाप हुनसक्ने भएकाले त्यसलाई रोक्ने तयारीबारे छलफल भएको बताइएको छ ।
यता, गृहमन्त्री रमेश लेखकले पनि सुरक्षा व्यवस्था कडा पारेको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगर पुगेका उनले गणतन्त्रको विकल्प राजतन्त्र नहुने भन्दै पूर्व राजालाई नहौसिन चेतावनी दिएको अवस्था छ ।
टिप्पणीहरू