स्वास्थ्यका नेफ्रोलोजिष्टलाई हटाउने तयारी

स्वास्थ्यका नेफ्रोलोजिष्टलाई हटाउने तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कन्सल्टेण्ट नेफ्रोलोजिष्ट (नवौं तह) डा.सन्तोष क्षेत्रीलाई बर्खास्त गर्न लागेको छ । लामो समयदेखि बिनासूचना गैरहाजिर रहेका उनलाई स्पष्टीकरण सोधिएकोमा सन्तोषजनक जवाफ नआएको भन्दै सेवाबाट हटाउने तयारी गरिएको हो । 

मन्त्रालयले आज सार्वजनिक सूचना निकालेर क्षेत्रीलाई अन्तिम मौका प्रदान गरिएको जनाउँदै चित्तबुझ्दो जवाफसहित आगामी पन्ध्र दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । अन्यथा, सेवाबाट हटाउने मन्त्रालयको चेतावनी छ । 

मन्त्रालयका अनुसार क्षेत्री गत साउन १८ गतेदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित छन् । उनलाई गत फागुन १० गते स्पष्टीकरण सोधिएको थियो । तर, जवाफ सन्तोषजनक नदेखिएकोले भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट किन नहटाउने ? भन्दै मन्त्रालयले सोधेको छ । 

‘तपाईंले मिति २०८१–११–१५ मा पेश गरेको स्पष्टीकरण सन्तोषजनक भएको नदेखिएकोले तपाईंलाई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा (१) को खण्ड (ज) बमोजिमको कसुरमा सोही ऐनको दफा ७२ को खण्ड (ख) को देहाय (१) बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट किन नहटाउने ? सेवाबाट हटाउन नपर्ने कुनै कारण भए सोको सबुत प्रमाणसहित १५ दिनभित्र स्पष्टीकरण पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ,’ मन्त्रालयले भनेको छ ।

टिप्पणीहरू