कालो कोटमा यसरी मिले कांग्रेस र कामरेड

कालो कोटमा यसरी मिले कांग्रेस र कामरेड
सुन्नुहोस्

चैत २३ गते हुने नेपाल बार एशोसिएसनको चुनावमा तलमाथि ग¥यौ भने डिएलए विघटन गर्दिन्छु भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले नेताहरूलाई थर्काएलगत्तै सत्तापक्षीय वकिलहरूबीच चुनावी तालमेल भएको छ । देउवाले ‘बारको अध्यक्षभन्दा पनि हाम्रालागि आउँदो समयसम्मका लागि सत्ता साझेदारीको सवाल ठूलो छ । प्रधानमन्त्रीमा हस्तान्तरणको कुरा छ ।’ भनी पिपिएलएसँग सहकार्यका निम्ति उर्दी जारी गरेको स्रोतको दाबी छ । ‘हामीलाई चाहिएको अध्यक्ष होइन ? त्यो केपी ओलीले दिएकै छ त ! खुरुक्क विजय मिश्रलाई अघि लाएर एमालेसँग सहकार्य गर्नु’ भन्दै निर्देशन दिएका थिए ।

सर्वोच्च बार र बार काउन्सिलको चुनावमा सत्ताधारी नेपाली कांग्रेस डिएलए र एमालेनिकट पिपिएलए भिडेका थिए । त्यसबेला डिएलएले नेकपा (एकीकृत समाजवादी) निकट एसपिएलएसँग गठबन्धन गरेको थियो ।

डिएलएबाट कसलाई अध्यक्षमा उठाउने भनी विधानअनुसार अन्तिम टुंगो लगाउने समितिले निर्णय गर्न नपाउँदै सभापति देउवाले हस्तक्षेप गरेपछि प्रमुख दाबेदार यदु खनालले विरोध जनाएका छन् । उनले विधानविपरीत उम्मेदवार तोकिएको र सिफारिस समितिलाई पूरै बेवास्ता गरिएकाले तत्काल डिएलएको महाधिवेशन बोलाउनुपर्ने माग राखेका छन् ।

अर्कोतर्फ नयाँ गठबन्धनकै कारण वामपन्थी वकिलबीच तालमेलको तयारी एकादेशको कुरा हुन पुगेको छ । यसपटक माओवादीनिकट आरपिएलएका तर्फबाट रमणकुमार श्रेष्ठ अध्यक्षमा उठेका छन् भने उनको उम्मेदवारीमा वरिष्ठ अधिवक्ता शम्भु थापा प्रस्तावक र वरिष्ठ अधिवक्ता सुशील पन्त समर्थक छन् । यसै समूहबाट एसपिएलएका डेकेन्द्र खड्काले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस र एमालेनिकट वकिलहरूबाहेक अन्य दलनिकट र स्वतन्त्रहरूको यो समूह खडा गरिएको हो । प्रधानमन्त्री ओलीलाई टीकाराम भट्टराईलाई जसरी पनि पाखा लगाउनपर्ने र रमण श्रेष्ठ मन नपरेकाले अहिलेको गठबन्धन अस्तित्वमा आएको दावी स्रोतको छ । ओलीले संसद विघटन गर्दा त्यसको विपक्षमा रमण श्रेष्ठले वकालत गरेका कारण फिटिक्कै मन नपराउने अवस्था छ । कांग्रेस र एमालेनिकट वकिलहरूको संख्या करिब ५ हजार छ भने बाँकी उत्तिकै भोट अन्य दल समर्थित र स्वतन्त्र वकिलहरूको छ । असन्तुष्टि दुवै समूहमा व्यापक देखिए पनि सत्ताधारी दलनिकट संगठनमा भने अलिक बढी नै पाइन्छ । पिपिएलएबाट महासचिवमा उठेका केदार कोइराला पहिला पनि कांग्रेस–माओवादी मिलेका कारण पराजित भएका थिए । अध्यक्षसहित १२ जना कांग्रेस समर्थित वकिलहरूलाई र महासचिवसहित १३ जना पिपिएलएलाई बाँडफाँट गरिएको छ । अर्को खेमाबाट माओवादी केन्द्रनिकट रमण श्रेष्ठलाई अध्यक्ष, एकीकृत समाजवादीनिकट एसपिएलएलाई बागमती उपाध्यक्ष र ३ जना सदस्य बाँडिएको छ ।

टिप्पणीहरू