कतै एमाले र माओवादी,कतै काङ्ग्रेस र एमाले

यतिबेला मुलुकभरका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको रौनक छ । सत्ता गठबन्धनझैं क्याम्पसहरुमा पनि नेकपा एमाले र नेपाली काँग्रेसको विद्यार्थी संगठनबीच तालमेल बढी देखिएको छ । तर, रोल्पामा भने एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु र नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) बीच तालमेल भएको छ ।
रोल्पा अनेरास्ववियुका अध्यक्ष सूर्य बिक र अखिल (क्रान्तिकारी) का अध्यक्ष सनिदेवल बुढामगरले संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचनमा संयुक्त ढंगले अगाडि बढ्ने सहमति भएको जानकारी गराएका छन् । ‘नेपाली विद्यार्थी आन्दोलनको ऐतिहासिक उपलब्धिका रुपमा रहेको स्वतन्त्र विद्यार्थी युनियन वामपन्थी विचारधाराले प्रेरित विद्यार्थी संगठनहरुले सञ्चालन गर्दा अझ प्रभावकारी बनाउन सकिने ठहर गर्दै नेकपा एमालेनिकट संगठन अनेरास्ववियु र नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बीचमा तालमेल, सहकार्य र एकताको आवश्यकतालाई महसुस गर्दै यो निर्वाचनमा संयुक्त ढंगले अगाडि बढ्ने सहमति भयो’,विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुले त्रिभुवन विश्वविद्यालयअन्तर्गत रचार क्याम्पसमा भागबण्डाको टुंगो पनि लगाएका छन् । नव नेपाल क्याम्पसमा अध्यक्ष, सहसचिवसहित दुई सदस्य अनेरास्ववियु र उपाध्यक्ष, सचिव, कोषाध्यक्षसहित चार सदस्य अखिल (क्रान्तिकारी) ले लिने सहमति भएको छ । जलजला क्याम्पसमा उपाध्यक्ष, सचिव, कोषाध्यक्षसहित सदस्य अनेरास्ववियु र अध्यक्ष, सहसचिवसहित सदस्य अखिल (क्रान्तिकारी) को भागमा परेको छ । रोल्पा नमुना क्याम्पसमा एक प्रत्यक्ष सदस्यबाहेक सबै अखिल (क्रान्तिकारी) ले लिने सम्झौता गरिएको छ ।
शहिद स्मृतिमा अखिल (क्रान्तिकारी) लाई सहयोग गर्ने सहमति भएको छ । यता, नेविसंघका जिल्ला अध्यक्ष अनुपम जिसीले आफ्नो संगठन बलियो भएकाले अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले तालमेल गरेको बताए । ‘नव नेपाल र जलजला क्याम्पसमा नेविसंघ एकदमै बलियो छ । जो बलियो छ, उसलाई हराउन तालमेल गर्नु स्वाभाविकै हो । यो माओवादीको उद्गमस्थल भएपनि निकै कमजोर छ । त्यसैले अनेरास्ववियुसँग अघि बढ्ने सहमति गरेको हो’,उनले भने ।
स्रोतका अनुसार जिल्लामा एमाले र काँग्रेसको सम्बन्ध त्यति राम्रो छैन् । जिल्लाको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुन काँग्रेसका हुन् । अघिल्लो कार्यकालमा एमालेका बालाराम बुढा अध्यक्ष थिए । पुनले निर्वाचित हुनेबित्तिकै बुढाका सबै निर्णय उल्टाइदिएका हुन् । त्यसैले एमाले काँग्रेससँग रुष्ट बनेको छ । ‘स्ववियु निर्वाचनमा एमाले र माओवादीले तालमेल गर्नुपछाडि धेरै कारण छ । आम निर्वाचनदेखि नै एमाले काँग्रेससँग रिसाएको छ’,स्रोतले भन्यो ।
टिप्पणीहरू