सिन्धुपाल्चोक पुगेर पनि गिरिजाकै कुरा

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र जोगाउने मुख्य अभिभारा आफ्नो काँधमा आएको बताउनुभएको छ ।
पार्टीको मेलम्ची नगर सम्मेलन तथा जागरण सभालाई आज सम्बोधन गर्दै उहाँले संविधान निर्माण र विस्तृत शान्ति सम्झौताको प्रमुख हस्ताक्षरकर्ता हुनुको नाताले देश जोगाउने जिम्मेवारी आफूमा आएको दाबी गर्नुभएको हो ।
तत्कालीन प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले जीवनको अन्तिम घडीमा आफ्नो हात समातेर देशको जिम्मा लगाएको कुरा प्रचण्डले आज पनि दोहोर्याउनु भयो । अस्ति संसदमा पनि उक्त कुरा सुनाउनुभएका उहाँ बेलाबेला गिरिजासँगको सम्वाद र सम्बन्धबारे चर्चा गरिरहनुहुन्छ ।
तत्कालिन सात राजनीतिक दल र सरकारको तर्फबाट शान्ति सम्झौतामा दस्तखत गरेका गिरिजालाई राष्ट्रपति बनाउने बचन पूरा नगरेकोप्रति उहाँले पार्टीको आधिकारिक दस्तावेजमै आत्मालोचनासमेत गर्नुभएको छ । प्रसङ्ग चल्दा यो कुरासमेत दोहोर्याईरहने प्रचण्डले आज चैं देश जिम्मा लगाएको विषयमात्र उल्लेख गर्नुभयो ।
‘जीवनको अन्तिम सास फेरिरहेको बेला उहाँले अस्पतालको बेडमा मेरो हात समातेर अब देशको जिम्मा तपाईको हातमा छोडेर जाँदैछु, अरु नेताहरुको भर छैन भन्नुभएको थियो’, प्रचण्ड भन्नुहुन्छ, ‘त्यसकारण विस्तृत शान्ति सम्झौताको प्रमुख हस्ताक्षरकर्ता र संविधान निर्माणको प्रमुख हिस्सेदार भएको हैसियतले देश जोगाउने जिम्मेवारी माओवादीको काँधमा आएको छ ।’
उमेरले ७० वर्ष नाघे पनि जनता भेट्ने हुटहुटीले देश दौडाह गरिरहेको पनि उहाँले बताउनुभयो । ‘देशलाई अफ्ठ्यारोमा पार्ने चलखेल भइरहेको देख्नुभएकै छ, यो सबलाई रोक्नका लागि म ७० वर्ष नाघे पनि दौडिरहेको छु, कहिले पूर्व, कहिले पश्चिम, कहिले तराई पहाड गरैकै छु’, प्रचण्डले थप्नुभयो ।
भाषणका क्रममा प्रचण्डले सिन्धुपाल्चोक घर घएका पूर्व सभामुख एंव पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटा, हालका माननीय सांसद माधव सापकोटा र बागमती प्रदेश सभा सदस्य सरल सहयात्रीको खुलेर प्रशंसासमेत गर्नुभएको थियो ।
‘मेलम्चीका जनसमुदायले यस्ता नेताहरु पैदा गर्नुभएको छ, जसले भविष्यमा गएर सिंगो राष्ट्रको नेतृत्व गर्ने हैसियत र ल्याकत राख्छन्’, उहाँले सुनाउनुभयो ।
टिप्पणीहरू