पूर्व विशिष्टलाई सुविधा थप्ने कुरामा प्रतिपक्षको बिरोध

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पूर्व विशिष्टलाई आजीवन सुविधा दिनुभन्दा गरिबी निवारणमा लगानी गर्न सरकारलाई सुझाव दिएको छ ।
आजको प्रतिनिधिसभामा बोल्दै सो पार्टीका सांसद जनार्दन शर्माले त्यस्तो सल्लाह दिएका हुन् । पूर्व अर्थमन्त्रीसमेत रहेका उनले अवकाशप्राप्त भिभिआइपी र भिआइपीहरुको सेवा सुविधामा खर्च हुने रकमले मृगौला र क्यान्सर पीडितको नि:शुल्क उपचार गर्न सकिने उपाय पनि दिए ।
‘पूर्व विशिष्ट व्यक्तिहरुलाई आजीवन सुविधा दिनुभन्दा गरिबी निवारणमा लगानी गरौँ न, त्यसको लागि आवश्यक कानुन बनाउन हामी तयार छौँ’, शर्माले भने, ‘नचाहिँदो काम नगरौँ, त्यो बजेटले सयौँ मृगौला र क्यान्सर पीडितको उपचार गर्न सकिन्छ ।’
माओवादीकै अर्का सांसद तथा पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले पनि यसबारे सरकारको जवाफ माग गरेका छन् । मुलुक ग्रे लिस्टमा परिरहेको पूष्ठभूमिमा परिस्थितिलाई थप जटिल बनाउन पूर्व विशिष्ट व्यक्तिहरुलाई आजीवन सेवा सुविधा दिने प्रपञ्चमा सरकार लागेको उनको दाबी छ ।
त्यस्तै, नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले पनि राजनीतिलाई सरकारी पेन्सनजस्तो बनाउन नहुने टिप्पणी गरे ।
अहिले दिइँदै आइएको सेवा सुविधामा समेत कटौती गर्नुपर्ने तर्क राख्दै भने, ‘कुनै एउटा व्यक्ति एकपटक निर्वाचित भयो भने, कुनै पदमा गयो भने जिन्दगीभर उसले सुविधा पाउनुपर्ने, सरकारी जागिरको पेन्सनजस्तो राजनीतिलाई बनाउनु हुँदैन, राजनीति त सेवा हो नि, अहिलेको सुविधा पनि बन्द गर्नुपर्छ ।’
टिप्पणीहरू