त्रिभुवनले भारतमा रसरंग गरेको कुरा उठेपछि सांसदहरुको बाझाबाझ

सुन्नुहोस्

नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीलाई झपारेका छन् । आज प्रतिनिधिसभा बैठक चलिरहेका बेला उनले ‘इतिहास पढेर आउ, मिस्टर’ भन्दै शाहीलाई थर्काएका हुन् । 

सांसद पन्तले तत्कालीन राजा त्रिभुवनले भारतको कोलकत्ता गएर नाइट क्लबमा अनेक आइमाईसँग मोजमस्ती गरेको टिप्पणी गरेका थिए । ‘राजा त्रिभुवन दिल्ली जान्छु भनेर त गए, तर कोलकत्ताका नाइट क्लबमा गएर विभिन्न आइमाईसँग रसरंग गरेका हुन्’, उनले भने, ‘उनको पारा देखेर त्यतिबेलाको भारतीय प्रधानमन्त्रीले नेपाली राजाको शैली ठिक भएन भनेर टिप्पणी नै गरेका छन् ।’ 

लगत्तै सांसद शाहीले नियमापत्ती जनाउँदै खण्डन गर्न खाेजेकाे थिए, तर सांसद पन्त चिढिन पुगे । शाहीले भने, ‘संसदमा जे पायो त्यही बोल्न पाइन्छ ?’ पन्तले भने, ‘आफ्नो टाइममा बोल्नुहोस् न !’

शाहीले जवाफ फर्काए, ‘गरिमामय संसदमा भ्रम फैलाउने ! प्रमाण छ ?’ पन्त थप रिसाए र भने, ‘मैले बोलेको कुरा इतिहासले प्रमाणित गर्छ । मसँग बहस गर्ने हो भने इतिहास पढेर आउने, मिस्टर । मान्यजी, पढ्नुस् पहिले । जुम्लामा हाहा... हुहुहु... गर्याजस्तो हैन यहाँ ।’

सांसद पन्त र शाहीबीच चर्काचर्की उग्र बन्दै गएपछि सभामुख देवराज घिमिरेले सम्झाउनु परेको थियो । संसदमा मर्यादित भएर सत्य र तथ्यसहितको भनाई राख्न सभामुखबाट आग्रह गरियो । 

त्यसपछि आफ्ना भनाईलाई निरन्तरता दिएका पन्तले राजावादीलाई कटाक्ष गर्न छोडेनन् । ‘उहाँहरुको कार्यक्रम हेर्दा अचम्म पर्छु, सबैभन्दा तल देश, देशभन्दा माथि नरेश, नरेशभन्दा माथि योगी र उत्तर प्रदेश । नमूना देशभक्तहरु !’, उनले थपे ।
 

टिप्पणीहरू