सरकार बनाउन कांग्रेस र माओवादीबीच छलफल भैरहेको खुलासा

सरकार बनाउन कांग्रेस र माओवादीबीच छलफल भैरहेको खुलासा
सुन्नुहोस्

प्रतिनिधि सभाको यो कार्यकाल सरकारमा नजाने सार्वजनिक घोषणा गरेको प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले नयाँ सत्ता समीकरण बनाउने कसरतमा रहेको खुलेको छ ।

गणतन्त्रको रक्षा र संविधान कार्यान्वयनका लागि नयाँ सहकार्यको खोजी भैरहेको सो पार्टीका सांसद तथा युवा नेता लेखनाथ दाहाल राजनले खुलासा गरेका हुन् । आज संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गणतन्त्र पक्षधर दलबीचको सहकार्यामा नयाँ सरकारको प्रयास थालिएकाे बताए । 

प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकारले बेथिति, अराजकता र अनियमितता निम्त्याएको जिकिर गर्दै उनले यसबाट प्रतिगामी शक्तिलाई फाइदा पुगिरहेको तर्क गरे । यस्तो अवस्थाको अन्त्यका लागि कांग्रेस र माओवादीबीच सहकार्य आवश्यक रहेको र त्यहि दिशामा छलफल केन्द्रित रहेको दाहालले खुलाए । 

‘सरकारमै बसेर व्यवस्था विरोधीलाई फाइदा पुग्नेगरी जुन गतिविधि भइरहेको छ, त्यसलाई निरुत्साहन गर्न गणतन्त्र पक्षधरहरु एक ठाउँमा उभिने र सहकार्य गर्ने कुरा भएको छ’, उनले भने, ‘गणतन्त्र पक्षधरहरुको सरकार निर्माण गर्ने सम्भावनाको ढोका खुलेको छ, यो प्रक्रियामा छलफल शुरु भएको छ, केही समयपछि यसले एउटा आकार ग्रहण गर्नेछ ।’

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एक विश्वासपात्र मानिने उनले राजवादी भन्दा पनि प्रधानमन्त्री ओली नेतृत्वको सरकारसँग माओवादी गम्भीर बन्नु परेकाे पनि बताएका छन् । 

‘जुन तरिकाले केपी ओलीले नेतृत्व गरिरहनुभएको छ, त्यसले नागरिकमा वितृष्णाबाहेक अरु केही छैन, हामी डराएको पूर्वराजासँग होइन, सरकारको निकम्मापनप्रति गम्भीर बनेका हौँ’, उनले थपे । 

गणतन्त्र पक्षधरको नयाँ सरकार बनाउने सवालमा कांग्रेससँग बढी छलफल भइरहेको जनाउँदै दाहालले विस्तृतमा खुलाए, ‘प्रतिगामीहरुले निम्त्याउन खोजेको जटिल परिस्थितिलाई रोक्न अहिले गणतन्त्र पक्षधरका दलहरुबीच केहि लिने र दिने भन्दा पनि सहकार्य गर्ने कुरालाई प्राथमिकतामा राखेका छौँ, यो विषयमा कांग्रेससँग बढी छलफल चलिरहेको छ ।’

टिप्पणीहरू