चीनको इतिहास मोह देख्दा नेपाली नेत्री चकित

चीनको इतिहास मोह देख्दा नेपाली नेत्री चकित

नेपाली काँग्रेस प्रतिनिधिमण्डल चीनका विभिन्न स्थानको अवलोकनमा व्यस्त छ । यस क्रममा पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री सुजाता कोइराला नेतृत्वको प्रतिनिधिमण्डलले सिचुआन प्रान्तको राजधानी छन्तुस्थित संग्रहालयको अवलोकन भ्रमण गरेको छ ।

सानसिङतुई संग्रहालयको अवलोकनपछि नेपाली प्रतिनिधिमण्डलका सदस्यहरु इतिहास संरक्षणमा चीनले अपनाएको आधुनिक पद्धतिबाट प्रभावित बनेको सिन्ह्वा समाचार समितिको समाचारलाई उद्धृत गर्दै चाइना डेलीले जनाएको छ । उक्त संग्रहालयमा तीन हजार वर्षअघिका जीवन्त सभ्यताका ऐतिहासिक वस्तुको उचित ढंगले संरक्षण गरिएको छ । 

नेतृ कोइरालाले एआई पद्धतिबाट चीनले ऐतिहासिक वस्तु र धरोहरको उचित ढंगले गरेको संरक्षणको प्रशंसा गरेकी छन् । सांस्कृतिक सम्पदा संरक्षणमा चीनले अपनाएको उत्कृष्ट प्रविधिले विश्वलाई नै चकित पारेको उनको भनाइ छ ।

नेपाली प्रतिनिधिमण्डलले सिचुआन प्रान्तमा रहेको युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत माउण्ट अमेइको पनि अवलोकन गरेको बताइन्छ । सो क्षेत्रमा चीनका आन्तरिक तथा वाह्य पर्यटकहरु नेपालको लुम्बिनीमा झैँ शान्ति र समृद्धिको कामना गर्दै प्रार्थना गर्न जाने गरेका छन् । 

नेपाल र चीनबीच यो वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव मनाईंदै छ । सोही अवसरमा नेपाली काँग्रेसको प्रतिनिधिमण्डल चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा गएको हो ।

टिप्पणीहरू