भागबण्डापछि जिल्लाका स्ववियू सर्वसम्मत

राजनीतिक दलहरुको विचार र आस्थाअनुसार फरक–फरक विद्यार्थी संगठन अस्तित्वमा भए पनि दार्चुलामा स्ववियू निर्वाचनमा प्रतिस्पर्धा भएको छैन । फरक विचार, एजेण्डा र दृष्टिकोण भएका चारवटा विद्यार्थी संगठनले जिल्लाका पाँचवटा क्याम्पसमा भागबण्डा गरेर सर्वसम्मत नेतृत्व चयन गरेका छन् ।
चुनावी प्रतिस्पर्धाबाट पछि हटेर एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रका साथै विप्लव नेतृत्वको पार्टीनिकट विद्यार्थी संगठनहरुले सहमतिमा स्ववियु पदाधिकारी चयन गरेका हुन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा आज निर्वाचन भएपनि एक हप्ता अगाडि नै दार्चुलाका पाँचवटै क्याम्पसमा चुनावी प्रक्रिया सम्पन्न भएको छ । चारवटै विद्यार्थी संगठनले भागबण्डामा सहमति गरेपछि स्ववियु पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् ।
विद्यार्थी संगठनहरुबीच भागबण्डामा गरिएको सहमतिअनुसार एमालेनिकट अनेरास्ववियु र काग्रेसनिकट नेविसंघले दुई–दुई क्याम्पसमा स्ववियूको नेतृत्व पाएका छन् । व्यास गाउँपालिकास्थित अपिनाम्पा क्याम्पस र महाकाली नगरपालिकास्थित राष्ट्रिय क्याम्पस दत्तुमा नेविसंघले नेतृत्व पाएको छ । अनेरास्ववियुले मार्मा गाउँपालिकास्थित लटिनाथ क्याम्पस र लेकम गाउँपालिकास्थित कृष्ण स्नातक क्याम्पसमा स्ववियूको नेतृत्व पाएको छ । माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीलाई मालिकार्जुन गाउँपालिकास्थित शंकरपुर क्याम्पसमा स्ववियूको नेतृत्व दिइएको छ ।
११ सदस्यीय स्ववियू पदाधिकारीहरु तिनवटै संगठनले आपसमा बाँडेका छन् । स्ववियू निर्वाचन प्रयोजनका लागि कृष्ण स्नातक क्याम्पस लालीमा संगठन दर्ता गरेको विप्लव नेतृत्वको अनेरास्ववियु (समाजवादी)लाई एकजना सदस्य दिइएको छ । बाँकी ४ क्याम्पसमा भने प्रमुख तीन विद्यार्थी संगठनहरुबीच भागबण्डा गरिएको छ ।
फागुन २७ गते उम्मेदवारी दर्ता अगावै उनीहरुले फागुन २४ गते नै भागबण्डाको खाकामा सहमति गरेका थिए । माउपार्टीको समेत स्वीकृतिलिएर विद्यार्थी संगठनले स्ववियू निर्वाचनमा भागवण्डा गरेका हुन् । निर्वाचनमा खटनपटन गर्नुपर्ने तथा समय र पैसा समेत खर्च गर्नुपर्ने झन्झटबाट मुक्ति पाउन भागबण्डामा सहमति गरिएको बताइएको छ । यद्यपि पाँचवटै क्याम्पसमा कुनै पनि संगठनले एकल रुपमा चुनाव जित्ने स्पष्ट जनमत नभएकाले सहमतिमा जुटेको तर्क पनि छ ।
विद्यार्थी संगठनहरुबीच आपसी सदभाव, सहकार्य र सहअस्तित्वको अभ्यास गरिएको अनेरास्ववियुका जिल्ला अध्यक्ष नरेन्द्रप्रसाद जोशीले बताए । तीनवटै संगठनले आफ्नो सांगठनिक अवस्था र परिस्थितिको आधारमा स्ववियू पदाधिकारी बाँडफाँड गरेको नेविसंघ दार्चुलाका कार्यवाहक अध्यक्ष दिपक खातीको भनाइ छ ।
विद्यार्थी संगठनहरुको सहमतिलाई मातृपार्टीको जिल्ला नेतृत्वले अनुमोदन गरेपछि फागुन २४ गते सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गरी सहमतिको खाका नै सार्वजनिक गरिएको थियो । कृष्ण स्नातक क्याम्पसमा विप्लव नेतृत्वको विद्यार्थी संगठन पनि निर्वाचन प्रक्रियाका लागि दर्ता भएको जानकारी पाएपछि उसलाई एकजना स्ववियू सदस्य दिइएको छ । फागुन २७ गते विप्लव नेतृत्वको विद्यार्थी संगठनसहित चारवटै संगठनहरुले विज्ञप्ति निकालेर सहमतिमा सबै क्याम्पसमा स्ववियूको नेतृत्व चयन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
दार्चुलामा हाल सातवटा क्याम्पस छन् । धेरै विद्यार्थी रहेको सदरमुकाम खलंगाको दार्चुला बहुमुखी क्याम्पस र शैल्यशिखर नगरपालिकास्थित गोकुलेश्वर बहुमुखी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयसँग आबद्ध छन् । यी दुई बाहेक ग्रामीण क्षेत्रका ५ वटा क्याम्पसहरुको भने त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन छ ।
ग्रामीण भेगका पाँचवटै क्याम्पसमा विद्यार्थी संख्या न्यून भएका कारण पनि स्ववियू निर्वाचनमा चुनावी प्रतिस्पर्धा नभएको विद्यार्थी नेताहरु बताउँछन् । क्याम्पसमा भर्ना गरिएका अधिकांश विद्यार्थीहरु नियमित रुपमा क्याम्पसमा उपस्थित नहुने गरेको र स्ववियू निर्वाचनप्रति विद्यार्थीहरुको न्युन चाँसो रहेकोले पनि विद्यार्थी संगठनहरु सहमतिमा नेतृत्व चयन गर्न तयार भएको बताइएको छ ।
स्ववियू निर्वाचन सञ्चालन हुने क्याम्पसहरुमध्ये लटिनाथ क्याम्पसमा २०८ विद्यार्थी छन् भने अपिनाम्पा क्याम्पसमा १२५ जना छन् । त्यसैगरी, कृष्ण स्नातक क्याम्पसमा ११८, शंकरपुर क्याम्पसमा १०६ र राष्ट्रिय क्याम्पस दत्तूमा १०३ विद्यार्थी छन्।
सुदूरपश्चिम विश्वविद्यालयले भने चैत्र २७ गते स्ववियू निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धनप्राप्त बाँकी दुई क्याम्पसमा पनि सहमतिमा स्ववियूको नेतृत्व चयन गर्ने प्रयासमा आफूहरु रहेको नेविसंघका कार्यवाहक जिल्ला अध्यक्ष खातीले जानकारी दिए ।
टिप्पणीहरू