होली वाइन एमाले सांसद बोकेर विदेशतिर

होली वाइन एमाले सांसद बोकेर विदेशतिर
सुन्नुहोस्

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डे यतिखेर कम्बोडियाको राजधानी न्होम्पेन्हमा छन् । उनीसँगै एमाले सांसद तथा पूर्व कानुन मन्त्री पदम गिरी पनि परिवार दलका अध्यक्ष तथा एमाले सांसद एकनाथ ढकाल उर्फ होली वाइनको स्वागत सत्कारमा सामेल छन् । गैरआवासीय नेपालीहरुले दुई दिनअघि थाइल्याण्डको राजधानी बैंककमा आयोजना गरेको एउटा कार्यक्रममा भाग लिएर उनीहरु अहिले कम्बोडिया पुगेका हुन् ।

गैरआवासीय नेपालीहरुको संघ एनआरएनए चरम विवादमा छ । पछिल्लो समय बद्रि केसीको नेतृत्वलाई आधिकारिकता प्रदान गरिएको छ । जबकि आधिकारिकताको लफडाबारे परेको मुद्दा सर्वोच्चमा विचाराधीन छ । यही मेसोमा कार्यक्रममा सहभागी गराउन मन्त्रीदेखि सांसद,पत्रकार, व्यापारी र कलाकारलाई बैंकक हुँदै कम्बोडिया पुर्याइएको छ ।

बैंककबाट प्राप्त समाचारअनुसार केसी समूहले शनिबार र आइतबार युथ सम्मेलन आयोजना गरेको थियो । नेपाली मूलका नागरिकलाई परिचयपत्र दिलाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा केसी,पाण्डे,गिरीलगायत सहभागी थिए। दुई दिन बैंकक बसेपछि उनीहरु हिजो कम्बोडिया पुगेको बताइन्छ ।

बैंककको कार्यक्रममा सहभागी नभएर नेपालबाट लगिएका डेढ दर्जन बढी व्यापारी,कलाकार,पत्रकार सपिंग र रमाइलोतिर लागे पछि एनआरएनएका महासचिव रामशरण सिंखडाले मञ्चमा उभिएर तोकिएको समयभित्र हलभित्र बसिदिन कडै शब्दैमा निर्देशन अनुरोध गर्नुपरेको एकजना सहभागीले बताए ।

उनको आशय थियो, ‘यत्रो पैसा खर्च गरेर ल्याइयो । दिउँसै रमाइलो गर्न जाने ?’ 

यता प्रधानमन्त्री केपी शर्मा ओलीले बैंककको सम्मेलनलाई भर्चुअल सम्बोधन गर्ने जानकारी दिइएको थियो । तर,दोस्रो दिन प्रधानमन्त्रीको पाँच मीनेटको भिडियो पठाइएछि बालुवाटारले धोका दिएको भन्दै आयोजकहरु रिसले मुरमुरिएका छन् ।

त्यस्तै खालको कार्यक्रम आजदेखि कम्बोडियाको राजधानी न्होम्पेन्हमा शुरु भएको छ । भोलिसम्म हुने कार्यक्रममा निम्तो नै नगरिएका एकनाथ ढकालको उपस्थिति देखिएपछि एनआरएनएका कतिपयहरु आश्चर्य मानिरहेका छन् ।

ढकालकै अग्रसरतामा कम्बोडियाको राजपरिषदका एक जना सचिवलाई हिजो बेलुकी विशेष अतिथिको निम्तो पठाइएको थियो । ती सचिवलाई विशेष अतिथि बनाएर मन्त्री पाण्डेलाई प्रमुख अतिथिको रुपमा आज र भोलि मञ्चमा राखिएको छ ।

बैंककमा सहभागी भएर गायक आनन्द कार्कीलगायत पत्रकार तथा कलाकारहरुको ठूलै टोली कम्बोडिया पुगेको छ । त्यसमा नरेश भट्टराई, टिकाराम यात्रीलगायत छन् । कम्बोडियाको सबै व्यवस्थापन लालसिंह खड्का र थाइल्याण्डको कुमार कार्कीले गरेका थिए । अस्ति थाइल्याण्डको कार्यक्रम खल्लो भएपछि सहभागी नभागुन् भन्दै कम्बोडियामा बिहान र बेलुकी हाजिरीको व्यवस्था गरिएको बताइन्छ । 

यता माओवादी र रास्वपाले भने एनआरएनएको उक्त कार्यक्रम घोषित रुपमा बहिष्कार गरेका छन् । कार्यक्रममा जान भनेर तयार भएका सांसद माधव सापकोटालाई अध्यक्ष प्रचण्डको सचिवालयले अन्तिम समयमा रोकिदिएको थियो । बद्रि केसीसँग पराजित आरके शर्माको समूहले प्रचण्डको सचिवालयमा उजुर हालेपछि सापकोटाको विदेश यात्रामा ब्रेक लागेको बुझिएको छ ।

शर्मा समूहले यसअघि प्रचण्ड नेतृत्वको सरकारले बद्रि केसीलाई मान्यता नदिएको र प्रधानमन्त्री ओलीले हालका केसीलाई मान्यता दिएको कारण देखाएपछि माधव सापकोटा रोकिएका हुन् । रवि लामिछानेको रास्वपाबाट सोबिता गौतमलाई पठाउने तयारी थियो । तर अन्तिममा एमाले र काँग्रेसको चाहनाबमोजिम आयोजकलाई गौतमको नाम हटाउन लगाउँदा गौतम यतै रोकिइन् ।
 
कम्बोडियामा आयोजित कार्यक्रम दशौं एसिया प्यासिफिक क्षेत्रीय बैठक ‘संगम’ हो ।
 

टिप्पणीहरू