सिटिजन्स बैंकका दर्जनौं कर्मचारी सम्मानित

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दशक बढी सेवा गरेका आफ्ना कर्मचारीलाई सम्मान गरेको छ । स्थापनाको १९ औं वर्षमा प्रवेश गर्न लागेको अवसरमा बैंकले १० र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान’ गरेको जनाएको छ ।
२०६४ वैशाख ७ गते ४३ जना कर्मचारीबाट विधिवत बैंकिङ्ग सेवा थालेको बैंकमा हाल १८ सयबढी कर्मचारी छन् । १० वर्ष सेवा प्रवाह गरेका ६१ जना र १५ वर्ष सेवा प्रवाह गरेका १८ जना गरी ७९ जना कर्मचारीलाई प्रमाणपत्रसहित ‘दीर्घ सेवा सम्मान’ प्रदान गरिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले प्रमाणपत्र हस्तान्तरण गर्दै अहिलेको अवस्थासम्म आइपुग्न कर्मचारीको मेहेनत, लगनशीलता, प्रतिबद्धता र जिम्मेवारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । आगामी दिनमा पनि आफ्नोतर्फबाट सत प्रतिशत योगदान दिन कर्मचारीहरुलाई आग्रह गरेका छन् ।
समारोहमा बैंकले २०८२ सालको क्यालेण्डर पनि सार्वजनिक गरेको छ । विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ ।
मुलुकमै पहिलो पटक मोबाइल बैंकिङ्ग एपमार्फत नै सेयर आवेदन दिन र नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ । देशभर ६० जिल्लामा फैलिएको सिटिजन्स बैंकले आफ्ना एक सय ९९ वटा शाखा, एक सय ६६ वटा एटिएम., तीन विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ्ग ईकाइबाट साढे १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
टिप्पणीहरू