कांग्रेस र एमालेका विद्यार्थीबीच मारामार, बाहिरका पनि सिकिस्त
ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा सत्ताधारी पार्टी नेपाली कांग्रेस र एमालेका विद्यार्थी कुटाकुटमा उत्रिएका छन् ।
स्ववियु निर्वाचनका क्रममा उत्पन्न विवादले उग्ररुप लिँदा नेविसंघ र अनेरास्ववियुका विद्यार्थीबीच हानाहान भएको हो । शुरुमा फर्जी मत हालेको भन्दै एमाले अखिलले नेविसंघतर्फ औँलो उठाएपछि विवाद शुरु भएको थियो । १०० जनाले मतदान गरिसकेपछि मतदान प्रक्रिया रोकेर सर्वपक्षीय बैठक रखिएको थियो ।
क्याम्पसभित्र बैठक बसिरहेका बेला बाहिर नेविसंघ र अनेरास्ववियुका कार्यकर्ता मुक्कामुक्कीमा उत्रिए । अहिले क्याम्पस परिसर तनावग्रस्त बनेको छ । झडपमा एमाले कार्यकर्ता दिनेश श्रेष्ठ, पवन शाही, राजिव अधिकारीलगायत घाइते भएको बताइएको छ ।
एमाले युवा नेता रमेश पौडेलका अनुसार निर्वाचनमा धादली र फर्जी कार्डका विरुद्ध कुरा उठाएबापत अनेरास्ववियुका कार्यकर्ता र स्थानीयमाथि नेविसंघका कार्यकर्ताले रड ,धारिलो हतियार र ढुङ्गाले आक्रमण गरेका हुन् ।
अनेरास्ववियुले मतदान प्रक्रियाबाट अलगिने घोषणा गरेको छ भने अन्य विद्यार्थी संगठनहरुले हार्ने भएपछि अनावश्यक बखेडा झिकेर चुनाव भाँडन खोजेको आरोप लगाएका छन् ।
टिप्पणीहरू