पूर्वराजालाई अर्को गल्ती नदोहोर्याउन प्रचण्डको सुझाव
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र स्थापनाको लागि पूर्वराजा ज्ञानेन्द्र शाहले खलनायकको भूमिका निर्वाह गरेको टिप्पणी गर्नुभएको छ । जनसांस्कृतिक महासंघ नेपाल र अखिल नेपाल जनसांस्कृतिक महासंघले आज प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजना गरेको प्रतिरोध दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ‘भिलेनबिना हिरोलाई पनि मजा नआउने’ धारणा राख्नुभएको छ ।
जनयुद्धले गणतन्त्रको आधार तयार पारिरहँदा पूर्वराजाले नजानेर सहयोग गरेको प्रचण्डको अनुभव छ । ‘हामीले जनयुद्ध र जनक्रान्तिमार्फत् गणतन्त्रको आधार तयार पार्दै गर्दा ज्ञानेन्द्रले आफ्नो मुर्खतामार्फत् हामीलाई सहयोग गरेकै हुन्’, उहाँले भन्नुभयो, ‘उनले धेरै मुर्खता नगरेको भए, सात राजनीतिक दलमाथि दमन नगरेको भए सायद उनी केही वर्ष टिक्न पनि सक्थे । त्यसकारण भिलेनको रुपमा भए पनि उनको भूमिका छ ।’
पूर्वप्रधानमन्त्री प्रचण्डले अहिले फेरि राजसंस्था पुनःस्थापनाको लागि पूर्वराजाले कलाविहिन नाटक प्रदर्शन गरिरहेको उल्लेख गर्नुभयो । पूर्वराजाको गतिविधिले जनतालाई पुनः एकपटक सचेत तथा जागरुक बनाउन मद्दत गरेको उहाँको विश्लेषण छ । ‘तर फेरि कुनै पनि कथा, उपन्यास, फिल्म हिरोले मात्रै चल्दैन, त्यहाँ हिरो पनि चाहिन्छ । भिलेनको रोल सक्रिय भएन भने हिरोलाई मजा आउँदैन । भिलेन पनि अलि खतरनाक भएर आइदियो भने हिरो पनि त्यसलाई परास्त गर्न नयाँ ताकतको साथ आउँछ, अहिलेको दृश्य त्यही हो’, उहाँले थप्नुभयो ।
अध्यक्ष प्रचण्डले अर्को मुर्खता नगर्न पूर्वराजालाई आग्रहसमेत गर्नुभएको छ । चेतवानी दिँदै अघि भन्नुभयो, ‘फेरि राजामहाराजाहरूले अर्को मूर्खता नगरियोस्, यदि त्यसो गरियो भने निकै ठूलो मूल्य चुकाउनुपर्ने परिस्थिति आउन सक्छ ।’
टिप्पणीहरू