क्याविनेट बैठकमा आधा दर्जन नियुक्तिको निर्णय
सरकारले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालकमा यदुनाथ पौडेललाई नियुक्त गरेको छ ।
सोमबार बसेको क्याबिनेट बैठकको एक दर्जन निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अर्घाखाँचीका पौडेललाई उक्त जिम्मेवारी दिइएको जानकारी दिनुभएको हो । यसबाहेक क्याविनेटले अन्य विभिन्न निकायमा प्रमुख तथा प्रतिनिधि नियुक्त गरेको छ ।
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा बैतडीका दिनेशप्रसाद भट्टराई, ऋण असुली न्यायाधिकरणको बैंकिङ्ग सदस्यमा काठमाडौंका नरेशराज अर्याल र सुर्खेतकी पवित्रा सुवेदी र मकवानपुरका रामशरण सापकोटालाई शिक्षक सेवा आयोगको सदस्यमा नियुक्त गर्ने क्याविनेटको निर्णय छ ।
क्याविनेट बैठकले नेपाली सेनाको उपरथी पदमा विशेष बढुवा तथा सहायक रथी पदमा बढुवा र पदावधि थप गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै, आउँदो चैत २४ गते सार्वजनिक बिदा दिने तथा आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने सरकारको निर्णय छ । विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि प्राप्त हुने अनुदान सहायताबारे वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने भनिएको छ ।
काभ्रेपलाञ्चोकको साविक मेथिनकोट गाविस–६, स्थित ६ रोपनी र साविक पोखरी नारायणस्थान गाविस–३, स्थित ६ रोपनी जग्गा क्रमशः प्रहरी चौकी भकुण्डेवेशी र पोखरी नारायणस्थानको भवन निर्माणका निम्ति प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि क्याविनेटले गरेको छ ।
टिप्पणीहरू