स्ववियु चुनाव : यस्तो छ ललितपुरका चार इञ्जिनियरिङ कलेजको नतिजा

त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को लागि चैत ५ गते भएको निर्वाचनको नतिजा आउनेक्रम अन्तिम चरणमा पुगेको छ । अधिकांश कलेजको परिणाम आइसक्दा नेपाली काँग्रेसको भातृ संस्था नेविसंघले धेरै स्ववियु सभापति जितेको छ । एमालेनिकट अनेरास्ववियु र माओवादी केन्द्रको अखिल (क्रान्तिकारी)क्रमश: दोस्रो र तेश्रो भएका छन् ।
यता, ललितपुरका चार वटा इञ्जिनियरिङ कलेजमा भने मिश्रित परिणाम आएको छ । यहाँ राजनीतिक दलका भातृ संगठन र स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा होमिएका थिए ।
उपत्यकाको ठूलो र महत्वपूर्ण मानिएको पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा दलका उम्मेदवारलाई पाखा पार्दै सभापति जितेर स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठले स्ववियुको इतिहासमै नयाँ रेकर्ड बनाए । उनले अखिल क्रान्तिकारीका रसिक लम्साललाई पराजित गरेका हुन् । ३ हजार ८०७ मत खसेकोमा श्रेष्ठले ११ सय २ र लम्सालले ७१० भोट पाएको प्राप्त विवरणमा उल्लेख छ ।
स्वतन्त्र उम्मेदवारसँग सभापति हारेको अखिल क्रान्तिकारीले यहाँ सचिव भने हात पारेको छ । उसका लागि दिवस सापकोटाले उक्त पद जितेका हुन् । अनेरास्ववियुका अनुष नेपाललाई हराएका सापकोटाले १ हजार ७४ भोट पाए ।
चुनावी परिणामको विवरणअनुसार कोषाध्यक्षमा अनेरास्ववियुका अल्वर्ट ढकाल १ हजार ४२ भोट ल्याएर निर्वाचित हुँदा नेविसंघका रुपेश भट्टराईले ७६० भोटसहित निकटम प्रतिस्पर्धी बने । ९ सदस्यका लागि भएको निर्वाचनमा अनेरास्ववियुले ५, क्रान्तिकारीले २, नेविसंघ र स्वतन्त्रले एक-एक सदस्य जितेका छन् ।
स्वतन्त्रबाट सदस्य जित्ने प्रत्युष श्रेष्ठले सर्वाधिक १ हजार ३९७ भोट ल्याउँदा अनेरास्ववियुका वत्सल भुसाल १ हजार १६२, अनुप भण्डारी १ हजार ८१, विशाल पौडेल, ९६७ र पूजा शर्माले १ हजार १५८ मत पाए । क्रान्तिकारीका लजिक ढुंगाना १ हजार ५, स्वस्थी श्री पाण्डे १ हजार ७६ मत र नेविसंघका सपना बन्जाडेले १२ सय ७१ मतसहित सदस्य चुनिए ।
यता, बालकुमारीस्थित काठफोर्ड इञ्जिनियरिङ्ग कलेजमा पनि दल निकटका विद्यार्थी संगठनले पदाधिकारी बाँडेर लिएका छन् । निर्वाचन समितिका अनुसार ५५३ मतदाता रहेको कलेजमा अध्यक्ष निर्वाचित नेविसंघका आदित्य खड्काले १९८ मत ल्याएका छन् । निकटम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका राजेश कुँवर १८९ भोट पाएर उपविजेता बने ।
यहाँ सचिव पद भने सिके राउत नेतृत्वको जनमत पार्टीको विद्यार्थी संगठकले हात पारेको छ । उक्त संगठनको तर्फबाट उम्मेदवारी दिएका सरोज कुमार साहले अखिल क्रान्तिकारीका आभास पोखरेललाई हराएका हुन् । साहले २४६ भोट ल्याउँदा पोखरेलले १३६ मत प्रप्त गरे ।
अखिल क्रान्तिकारीका शिशिर सापकोटाले कोषाध्यक्षमा बाजी मारे । नेविसंघका युनिका कार्कीको भन्दा ६४ मत बढी ल्याएका उनलाई २१५ मत परेको बताइएको छ। सदस्यमा नेविसंघका सागर भट्ट (१६८), निरज घिमिरे (१६६) र सिके राउतका विजय साह १६१ निर्वाचित भए ।
ललितपुर महानगरपालिका-१४ टुटेपानीस्थित नेशनल कलेज अफ इञ्जिनियरिङकाे चुनावमा पनि छयासमिसे परिणाम आएको छ । अध्यक्ष र सचिव अनेरास्ववियुले जित्दा कोषाध्यक्ष नेविसंघले हात पारेको हो ।
प्राप्त विवरणअनुसार यहाँ ७०९ भोट खसेकोमा माअनेरास्ववियुका सुफल पौडेल ३५९ मतसहित अध्यक्ष चुनिए । निकटम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका जनकसिंह ठकुरीले २६० भोट पाए । सचिवमा अनेरास्ववियुकै राजेश केसीले ३३५ भोट ल्याउँदा नेविसंघका दिवस केशरी पौडेललाई १७० भोट मिल्यो ।
नेविसंघका पवन थापाले ३०४ भोट ल्याएर कोषाध्यक्ष जित्दा अनेरास्ववियुका सुलोचन ढुंगेलले २३९ मतमा सिमित भए । यहाँ अनेरास्ववियुले र नेविसंघले २-२ सदस्य जितेको बताइएको छ ।
त्यस्तै, सानेपाको सगरमाथा इञ्जिनियरिङ कलेजमा पनि त्यस्तै खाले नतिजा आएको छ । यहाँ सभापति, उपसभापति, सचिवसहित आठ सदस्य नेविसंघले जितेको छ भने अनेरास्ववियुले कोषाध्यक्ष र २ सदस्य पोल्टामा पारेको छ ।
जम्मा ४८० मत खसेकोमा सभापतिका उम्मेदवार नेविसंघका नवीन बहादुर चन्द २१८ मतसहित विजयी भए भने निकटम प्रतिद्वन्द्वी अनेरास्ववियुका बिशेष गौतमलाई २०० भोट प्राप्त भयो । उपसभापतिमा नेविसंघकै विपिन खत्री २३२ र निकटम प्रतिस्पर्धी अखिलका विरेन्द्र बुढाले १८३ मत पाए ।
सचिव जितेका नेविसंघका आँचल कर्णले २१४ र पराजित अखिलका परिवेश न्यौपानेले २०३ भोट पाएको निर्वाचन समितिले जनाएको छ । कोषाध्यक्षमा अखिलका रितेश कुमार यादव २२२ मतसहित विजयी हुँदा नेविसंघका शशांक कटुवालले १९३ मत पाए ।
टिप्पणीहरू