‘अवैध भेप’ प्रकरणमा भाटभटेनीलाई जोड्नु गम्भीर षड्यन्त्र : मीनबहादुर

‘अवैध भेप’ प्रकरणमा भाटभटेनीलाई जोड्नु गम्भीर षड्यन्त्र : मीनबहादुर
सुन्नुहोस्

भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले गएराति सिन्धुपाल्चोकको बाह्रबिसेमा बरामद विद्युतीय चुरोट ‘अवैध भेप’ प्रकरणमा आफ्नो संस्थालाई जोडेर प्रचार गरिएकोमा आपत्ति जनाएका छन् । ठूलो परिमाणको ‘अवैध भेप’ प्रकरणलाई लिएर प्रतिनिधि सभाको बैठकमा सांसदहरु गंगा कार्की र मनिष झालेसमेत भाटभटेनीको नाम उल्लेख गरेपछि गुरुङले आरोपको खण्डन गरेका हुन् ।

गुरुङले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘तातोपानीबाट शिल गरिएको कन्टेनरका चालकले आफू बस्ने सिटमुनि राखी ल्याएको अवैध भेपसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेकाले भाटभटेनीको भनी जनताका प्रतिनिधिले नै ‘ठोकुवा गर्नु’ खेदजनक कार्य हो ।’ उनले आफ्नो संस्थाबारे फैलाइएको भ्रम र कुप्रचारको खण्डन गर्दै पक्राउ परेका चालकमाथि अनुसन्धान गरेर सत्य तथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका छन् ।

चीनसँगको सीमानाका कोदारीबाट नेपाल छिरेको उक्त ट्रकमा ५५ वटा विद्युतीय सिगरेट (भेप) का ठूला डब्बा र ३० वटा सानो डब्बा फेला परेको थियो । अवैध रुपमा ल्याइएको भेपको संख्या सात सय ४० थान र त्यसको मूल्य २२ लाख २५ हजारभन्दा बढी रहेको बताइन्छ । भन्सार छलेर ल्याइएको उक्त भेप र ट्रकलाई राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ ।

मीनबहादुरले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ  :

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा माननीयद्वय गंगा कार्की र मनिष झाले व्यक्त गर्नुभएको धारणाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सार्वभौम जनताका प्रतिनिधिमुलक थलो प्रतिनिधिसभामा व्यक्त भएका धारणाहरु तथ्यमा आधारित हुनुपर्छ भन्ने मान्यतामा हामी पनि विश्वास गर्दछौँ ।

तथापी सिन्धुपाल्चोकमा समातिएको ट्रकमा ल्याइएको ‘अवैध भेप’ भाटभटेनीको भनी उहाँहरुले व्यक्त गर्नुभएको धारणामा कुनै पनि सत्यता नभएको स्पष्ट पार्न चाहन्छौँ । साथै उहाँहरूका धारणामा आधारित भई सम्प्रेषण भएका समाचारप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

तातोपानी भन्सारबाट शिल लगाएर पास गरिएको सामग्रीबाहेक चालक तथा सहचालकले गर्ने हरेक कमजोरीको जिम्मेवारी आयातकर्ताको जिम्मेवारीभित्र नपर्ने जानकारी गराउन चाहन्छौं ।

तातोपानीबाट शिल गरिएको कन्टेनरका चालकले आफू बस्ने सिटमुनी राखी ल्याएको ‘अवैध भेप’सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको हुनाले भाटभटेनीको भनी जनताका प्रतिनिधिले नै ‘ठोकुवा गर्नु’ खेदजनक कार्य हो ।

मुलुकको समृद्धि र राष्ट्र निर्माणको अभियानको अग्रणी कर्पोरेट संस्थाका बारेमा फैलाइएको कपोलकल्पित, भ्रामक सूचनाका पछि नलाग्न आम नागरिकमा अपील गर्न चाहन्छौँ । पक्राउ परेका चालकलाई राज्यका निकायले निष्पक्ष ढंगले अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउने नै छ भन्ने विश्वास भाटभटेनीको रहेको छ ।

भाटभटेनी वस्तु व्यापारमा सबैभन्दा बढी कर तिर्ने व्यापारिक संस्था भएको र मुलुकको दीर्घकालीन हित हेर्ने संस्था भएकोले कहिल्यै पनि गलत क्रियाकलापका पछि नलाग्ने पनि यहाँहरुमा विश्वास दिलाउन चाहन्छौँ ।

अर्बौँ रुपैयाँ दान दातव्यमा खर्च गरिरहेको संस्थाको बदनामी गराउन ‘अवैध भेप’लाई जोडेर प्रचार गरिनु राम्रो काम गर्ने व्यक्तिको मानसिकता कमजोर तुल्याउने षडयन्त्र हो भन्ने हाम्रो ठहर छ ।

एकजना चालकले गरेको अपराधसँग जोडेर भाटभटेनीजस्तो अग्रणी कर्पोरेट संस्थाको बदनाम गराउने कार्यमा नलाग्नुहुन पनि अपील गर्दछौँ ।

साथै सत्ताको नेतृत्व गरिरहनुभएका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, नेकपा एमालेसँग पनि जोडेर राखिएका धारणाको जिम्मेवारी स्वयम् माननीय सदस्यहरू नै हुनुहुनेछ भन्ने हामीलाई लागेको छ । अन्त्यमा, फेरि पनि पक्राउ परेका चालकलाई अनुसन्धानको दायरामा ल्याएर सत्यतथ्य सार्वजनिक गरिदिनुहुन राज्यका निकायसँग अनुरोध पनि गर्दछु ।

साथै कपोलकल्पितरुपमा व्यक्त भएका धारणामा आधारित समाचारले पार्ने प्रभावका बारेमा स्वयम् पत्रकारज्यू पनि जानकार हुनुहुने भएकाले त्यस्ता आधारहीन विषयलाई प्राथमिकतामा राखिदिनुहुने छैन भन्ने विश्सास रहेको छ ।

मीनबहादुर गुरुङ
अध्यक्ष, भाटभटेनी सुपरमार्केट ।

टिप्पणीहरू