विनोद चौधरीलाई हुत्याएर दीपक भट्टको इन्ट्री

ऊर्जामन्त्री दीपक खड्कासँगको सेटिङमा नेपाली काँग्रेसकै अर्का व्यापारी सांसद विनोद चौधरीले हात हाल्न खोजेको जलविद्युत परियोजनामा बिचौलिया दीपक भट्ट सामेल भएका छन् । भारतीय डलर अर्बपति गौतम अडानीको कम्पनीसँग भटट्को इन्फिनीटी होल्डिङ्स सामेल भएको छ ।
जलविद्युतमा हुने वैदेशिक लगानीमा स्थानीय साझेदारीका लागि भट्ट र गौतमको अडानी समूहबीच आन्तरिक सम्झौता भइसकेको स्रोतको दावी छ । झण्डै पाँच खर्ब रुपैयाँको मुगु कर्णाली जलायशयुक्त जलविद्युत परियोजनामा लगानी गर्न भारतीय सरकारी कम्पनी एनएचपीसी लिमिटेड र अडानी समूह इच्छुक देखिन्छन् । यसअघि ती कम्पनीसँग स्थानीय साझेदारको रुपमा चौधरीको सिजी इनरगोले साझेदारी गरेको थियो ।
१९०२ मेगावाटको उक्त परियोजना हात पार्न सिजी ग्रुपको चाहनाबमोजिम मन्त्री खड्काको दबाबमा विद्युत उत्पादन कम्पनीले ठाडो प्रस्ताव गरेको थियो । चर्को विवादपछि उक्त प्रस्ताव रध्द गरियो । कर्णालीका चार जिल्ला कालिकोट,मुगु,हुम्ला र जुम्लामा निर्माण हुने उक्त परियोजना हत्याउन चौधरीपछि भटट् समूह लागिपरेको कम्पनी स्रोतले बतायो ।
खड्काले मुगु कर्णाली र ४५४ मेगावाटको किमाथांका अरुण आयोजना देखावटी प्रतिस्पर्धाको आधारमा आफ्ना मान्छेलाई उपलब्ध गराउन रातारात कार्यविधि संशोधन गरेर प्रस्ताव गर्न लगाएका थिए । मंसिरमा ऊर्जा सचिव अध्यक्ष रहेको कम्पनीको सञ्चालक समिति बैठकले ‘आयोजना निर्माणका लागि लगानी साझेदारी गर्नेसम्बन्धी कार्यविधि’ को मस्यौदा बनाउन मंसिर ९ गते कम्पनीका सञ्चालक विनोदकुमार भट्टराईको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको थियो ।
मंसिर १४ मा समितिले स्वीकृत गरेको केही दिनपछि १५ दिनको म्याद राखेर लगानी साझेदारीको प्रस्ताव आह्वान गरियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो राखेपछि १५ दिन म्याद थपियो । जलाशययुक्त मुगु कर्णालीका लागि चौधरीको कम्पनीको मात्र प्रस्ताव परेको सूचना निकालिएको थियो ।
किमाथांका अरुणका लागि नोबेल ग्रुप अफ हाइड्रो इनर्जी, बेला नेपाल इण्डस्ट्रिज, भिजन इनर्जी एण्ड पावर, एनजे हाइड्रो इनर्जी र अनक हाइड्रोपावरको प्रस्ताव पर्यो । नोबेल कम्पनी कांग्रेस सांसद सुनील शर्माको हो भने भिजन इनर्जीका साझेदार माओवादी र काँग्रेसका नेताहरु हुन् ।
टिप्पणीहरू