देउवालाई बेवास्ता गर्ने योगीको मुख्यमन्त्रीसँग 'दोस्ती'

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र,नेपाल मामिलाका जानकार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नेपालमा चर्चा भैरहन्छ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत-र्यालीका क्रममा राजावादीहरुले उनको फोटो प्रदर्शन गरेपछि पछिल्लो समय चर्चा थप बढेको छ ।
यसैबीच मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले युपी पुगेर आदित्यनाथसँग भेटवार्ता गरेका छन् । दुई समकक्षीबीचको भेटवार्ताबारे कसैलाई जानकारी गराइएको छैन । मुख्यमन्त्री सिंहले संघीय सरकार,प्रदेश सभा सचिवालय, प्रदेश प्रमुख, र उनको पार्टीलाई भ्रमणबारे जानकारी नगराएको बताइएको छ ।
दुई देशका मुख्यमन्त्रीबीच भेटवार्ता हुँदा धेरै कुराले अर्थ राख्ने प्रदेश सभा सचिवालय बताउँछ । त्यहाँका एक कर्मचारीले भने, ‘दुई देशको मुख्यमन्त्रीबीच भेटवार्ता हुँदा कम्तिमा औपचारिक जानकारी गराउनुपथ्र्यो, यस्तो भेटमा दुई मुलुकको राजनीति तथा कूटनीति, आर्थिक परियोजनालगायत जोडिएको हुन्छ । तर, हामीले पनि फेसबुकमा फोटो देखेर थाहा पायौँ ।’
उता जनमत पार्टीले पनि मुख्यमन्त्री सिंहको भेटवार्ताबारे केहि जानकारी नभएको बताएको छ । पार्टी प्रवक्ता डा. शरदसिंह यादवले मुख्यमन्त्री सिंह भारत गएको भन्ने थाहा भए पनि उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथसँग भेटवार्ता गर्न लागेकोबारे कुनै जानकारी नभएको बताए ।
उनले जनआस्थासँग भने, ‘पार्टीका साथीहरुलाई उहाँ भारत जानुभएको छ भन्ने चाहिँ थाहा थियो, फर्किनु भयाे कि भएन, त्याे थाहा छैन । तर, योगीसँगको भेट्ने योजनाबारे कुनै जानकारी थिएन ।’
बताइए अनुसार आदित्यनाथ र सिंहबीच राम-सीता सर्किट परियोजना र आयोध्या पुग्ने पर्यटकलाई जनकपुरधामसम्म पुर्याउने योजनाबारे छलफल भएको छ । त्यस्तै, नेपाललाई हिन्दुराज्य घोषणा गर्न अभियान चलाउनुपर्ने विषयमा पनि कुराकानी भएको बताइएको छ ।
स्मरणीय छ, यीनै योगीले दुई महिनाअघि सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट नदिएको चर्चा थियो । प्रयागराजस्थित महाकुम्भ मेलामा स्नान र उत्तर प्रदेश सरकारले आयोजना गरेको 'महाकुम्भ समिट' मा सम्बोधन गर्न निम्त्याएका देउवाले अन्तिम घडीमा यात्रा रोकेका थिए ।
तिर्थाटनको बहानामा दिल्ली पुगेर भारतीय संस्थापन पक्षका केही नेतालाई भेट्ने रहर पूरा नहुने भएपछि उनले भ्रमण स्थगित गरेको काँग्रेसकै केही नेताको दावी थियो । नरेन्द्र मोदी र एस. जयशंकरले समय नदिएपछि योगीसँग भेट्ने प्रयास गरेका देउवालाई उनले समेत वास्ता नगरेको चर्चा चलेको थियो ।
टिप्पणीहरू