रञ्जिताको अडानले अर्को आपत, फकाउँदै चौधरी र राउत

गत आम निर्वाचनपछि एकाएक उदाएका दुई क्षेत्रीय दल जनमत पार्टी र नागरिक उन्मुक्तिबीच एकीकरण गर्ने नेताहरुले सहमति गरेका छन् । एकीकृत पार्टीको नेतृत्वको विषय भने पेचिलो बनेको छ ।
यहि महिना एकता घोषणा गर्ने तयारीका साथ गृहकार्य अघि बढाएका नेताहरु एकीकृत पार्टीको नेतृत्व कसले गर्ने भन्नेमा अहिलेसम्म एकमत छैनन् । नाउपाका कतिपय नेताले दुई अध्यक्षसहितको पार्टी बन्ने बताए पनि जनमततिरका मान्छेहरु भने डा. सिके राउत मात्रै अध्यक्ष बन्ने प्रचार गरिरहेका छन् ।
नाउपाले एकतापछि रञ्जिता श्रेष्ठसमेत अध्यक्ष हुने दावी गरेको छ । तर, जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले त्यस्तो दावी ठाडै खारेज गरिदिए ।
‘दुई वटा अध्यक्ष भएका पार्टी कहिंकतै छैन’, उनले जनआस्थासँग भने, ‘शक्तिशाली पार्टी बनाउने भनेर दुई अध्यक्ष बनेको पनि देखेकै हौँ, तर हाम्रो एकता प्रक्रियामा त्यो सम्भव छैन, डाक्टर साब (राउत) नै अध्यक्ष बन्नुहुन्छ ।’
यहि कारण रञ्जिता श्रेष्ठ भने पार्टी एकताप्रति खासै सन्तुष्ट नरहेको बुझिएको छ । आफूसहित दुई अध्यक्ष हुने भए पार्टी एकता गर्ने, नत्र नगर्ने उनको रणनीति रहेको बताइन्छ । उनलाई श्रीमानसमेत रहेका संरक्षक रेशम चौधरीले सम्झाउने प्रयास गरिरहेको सो पार्टीका एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार रञ्जितालाई एकतापछि सहअध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष बन्न प्रस्ताव गरिएको छ, तर उनले अध्यक्षभन्दा तल नबस्ने अडान लिएकी छन् ।
पार्टीको नेतृत्व, पदाधिकारी लगायतका विषयमा छलफल गरेर टुंगो लगाउन नाउपाले कार्यदलसमेत बनाएको छ । गंगाराम चौधरीको संयोजकत्वमा हिजो तीन सदस्यीय कार्यदल बनाएको हो । जनतम पार्टीले एक महिनाअघि नै प्रवक्ता यादवको संयोजकत्वमा त्यस्तो कार्यदल बनाइसकेको छ ।
रोचक के भने, जनमतका अध्यक्ष राउतले हिजो नाउपाको केन्द्रीय समिति बैठकको समापन समारोहमा पुगेर विशेष सम्बोधनसमेत गरेका थिए । तर, उनले आफ्नो अभिव्यक्तिमा रञ्जितालाई प्राथमिकता नदिएर संरक्षक चौधरीको प्रंशसा गरे ।
हिजोको उक्त दृश्यले पनि दुई दलको एकताप्रति रञ्जिता खासै सन्तुष्ट नरहेको चर्चालाई बल पुर्याएको छ ।
टिप्पणीहरू